नयाँ ट्याक्सी भाडा : सुरूमा रु १५ र एक किलोमिटरपछि रु ५३
काठमाडौं, जेठ ८ : मिटर बिगार्ने र मिटरमा जान नमान्ने ट्याक्सी चालकमाथि भइरहेको कारबाहीको विरोध स्वरुप ट्याक्सी चालकहरूले विभिन्न नारा लेखिए....
काठमाडौं, जेठ ८ : मिटर बिगार्ने र मिटरमा जान नमान्ने ट्याक्सी चालकमाथि भइरहेको कारबाहीको विरोध स्वरुप ट्याक्सी चालकहरूले विभिन्न नारा लेखिएको कागज टाँसेर ट्याक्सी कुदाउँदै आएका छन्। तीमध्ये एउटा नारा छ – हामी मिटरमा जान तयार छौँ, तर भाडा समायोजन गर।
तर, नेपाल गुणस्तर तथा नापतौल विभागले भने क्रमैसँग ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ। अहिलेसम्म छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन भइसकेको छ। तर, मिटर सही हुने ट्याक्सीको मात्रै भाडा समायोजन भइरहेको छ।
पहिला ट्याक्सी चलाउन थालेपछि सुरूमा १४ र एक किलोमिटर गुडिसकेपछि रु ५० उठ्ने गरेकामा नयाँ भाडा समायोजनपछि सुरूमा रु १५ र एक किलोमिटर गुडेपछि रु ५३ उठ्नेछ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए।
उनले भने, “मिटर र प्रिन्टर मेशिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ ।”
विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ। पहिला ट्याक्सी चलाउन थालेपछि सुरूमा १४ र एक किलोमिटर गुडिसकेपछि रु ५० उठ्ने गरेकामा नयाँ भाडा समायोजनपछि सुरूमा रु १५ र एक किलोमिटर गुडेपछि रु ५३ उठ्नेछ।
नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत पुगेको बताउँछन्।
“समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ।”
यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन्।
यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेशिनसमेत जडान गरिसकेको छ। सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७५ मङ्सिरदेखि हालसम्म मिटरमा जान नमान्ने तीन हजार ट्याक्सीलाई कारवाही गरेको छ।
महाशाखाका प्रमुख वसन्तकुमार पन्त ट्राफिक प्रहरीमा ट्याक्सी चालक मिटरमा जान नमान्ने उजुरीका आधारमा कारवाही गर्दै आएको बताउँछन्। महाशाखाले दैनिक ४० ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाउँदै आएको छ।






