Kathmandu Press

राम सेतु अध्ययन गर्न भारतीय पुरातत्व विभागको नयाँ अभियान 

पौराणिक महाकाव्य रामायणमा वर्णन गरिए अनुसार, बानर सेनाले रामलाई लंका पार गरी सीता बचाउँनका लागि सागरमा बनाएको पुलबारे अध्ययन गर्न लागिएको छ। यसको...
राम सेतु अध्ययन गर्न भारतीय पुरातत्व विभागको नयाँ अभियान 

पौराणिक महाकाव्य रामायणमा वर्णन गरिए अनुसार, बानर सेनाले रामलाई लंका पार गरी सीता बचाउँनका लागि सागरमा बनाएको पुलबारे अध्ययन गर्न लागिएको छ। यसको अध्ययनमा भारतको सिन्धु साधना या सिन्धु संकल्प नामक जहाज प्रयोग गरिने भएको छ। 

भारत र श्रीलंकाबीच समुद्री भागमा रहेको श्रृंखलावद्ध पत्थरको पुल कहिले र कसरी बनेको थियो भन्नेबारे सटिक अध्ययन यसवर्ष सुरू हुँदै छ। यस अध्ययनका लागि काम गर्ने वैज्ञानिकहरू रेडियोमेट्रिक र थर्मोल्युमिनेसेन्स प्रविधिको प्रयोग गरि रामायणकालदेखि हालसम्मको अवधिबारे ठोस निर्णय लिने बताउँछन्। 

भारतीय पुरातत्व सर्वेक्षण विभागअन्तर्गतको केन्द्रीय पुरातत्व सल्लाह बोर्डले सीएसआईआर दिल्ली र नेसनल ओस्नोग्राफी संस्थान  (एनआईओ), गोवाले दिएको सर्वेक्षणसम्बन्धी प्रस्तावलाई गत महिना अनुमोदन गरिसकेको छ। एनआईओका निर्देशक एवं प्राध्यापक सुनीलकुमार सिंहले भने, ‘अध्ययन पुरातात्विक प्राचिन वस्तु, रेडियोमेट्रिक, थर्मोल्युमिनेसेन्सद्वारा भूगर्भीय समय र त्यहाँको पर्यावरण सम्बन्धित तथ्यमा केन्द्रित हुनेछ।’

Hardik ivf

यस अध्ययनले रामायणकालदेखि अहिलेसम्मको समयबारे जानकारी प्राप्त हुने विश्वास गरिएको छ। ‘रेडियोमेट्रिक प्रविधिको प्रयोगले त्यहाँका प्यूमिक र मूंगा पत्थरहरूका पुरातात्विक संरचनाबारे समय सीमा निर्धारण गर्न मद्दत पुग्नेछ,’ प्रा.सिंहले भने, ‘मूंगा पत्थरमा भएका क्याल्सियम कार्बोनेट जस्ता चिजले त्यस पत्थरको र रामायण कालखण्डदेखि अहिलेसम्मको समय अवधिबारे पत्ता लाग्नेछ।’ 
रेडियोमेट्रिक प्रविधिले संरचनामा भएका अशुद्धताहरू पत्ता लगाइ त्यसको ठोस उमेर निर्धारण गर्दछ। थर्मोल्युमिनेसेन्स प्रविधिले संरचनालाई तताएर त्यसबाट निस्केको किरणद्वारा जाँच गरिन्छ।

यस अनुसन्धानले धार्मिक र राजनीतिक महत्व दुवै बोकेको छ। पौराणिक महाकाव्य रामायणअनुसार, बानर सेनाले रामलाई लंका पार गरी सीता बचाउँनका लागि सागरमा एक पुल निर्माण गरेको थियो। राम कुनै किंवदन्ती पात्र होइनन् भन्नेहरू ४८ किमि लामो यस यचून ढुंगे पुललाई रामायणसँग जोड्दछन् र यसलाई मानव निर्मित हो भनि दावी गर्छन्। 

सन् २००७ मा भारतीय पुरातत्व सर्वेक्षणले यसको अवधिबारे कुनै ठोस प्रमाणन भेटिएको जनाउँदै भारतको सर्वोच्च अदालतमा पेश भएको शपथपत्र फिर्ता लिएको थियो। रामायणको ऐतिहासिक मितिबारे इतिहासकार, पुरातत्वविद् र वैज्ञानिकहरूमा एक बहसको विषय बनिरहेको छ। 

यस अनुसन्धानले रामसेतु र वरपर क्षेत्रको प्राकृतिक गठनको वैज्ञानिक र पुरातात्विक अध्ययन गर्ने उद्देश्य रहेको प्रस्ताव पत्रमा खुलाइएको छ। एनआईओले यस अनुसन्धानका लागि सिन्धु साधना या सिन्धु संकल्प नामक जहाज प्रयोग गर्नेछ। जहाजको सहयोग लिई पानीको स्तरभन्दा ३५ देखि ४० मिटर तलको नमूनाहरू संकलन गर्नेछ।

यस परियोजनाको निरीक्षण एनआईओका टोली प्रमुख प्राविधिक अधिकारी डा. सुन्दरेशले गर्नेछन्। अध्ययनद्वारा राम सेतु वरिपरि डुबेका कुनै बस्तीहरू भए नभएकोबारे पनि पत्ता लगाइने एएसआईका अधिकारी बताउँछन्। ऐतिहासिक हिसाबले त्यहाँ घटनाहरू भएको देखाइएको छ। सन् १९६४  मा राम सेतु नजिकैको धनुष्कोडी नामक गाउँ एक चक्रवात वायुका कारण पानीमा डुबेको थियो। 

एनआईओले पाँच वर्षअघि एएसआईसँग समुद्रमूनिको पुरातात्विक संरचनालाई पुनरोद्वारा गर्ने सम्झौता गरेको थियो। त्यस बखत रामसेतु र भगवान कृष्णको पौराणिक शहर द्वारिकाबारे उल्लेख गरिएको थियो। 

धर्मशास्त्रमा जनाए अनुसार द्वारिका शहर द्वापर युगमा समुद्रभित्र विलिन भएको थियो। पौराणिक द्वारिका शहरबारे अनुसन्धान विगत दुई वर्षदेखि चलिरहेको छ। एनआईओका एक अधिकारी भन्छन, ‘यस्ता परियोजनाहरू केवल विश्वासको आधार मात्र नभएर वैज्ञानिक अनुसन्धान हो।’ द्वारिका परियोजनालाई २८ लाख भारतीय रुपैयाँ थप बजेट दिइएको छ भने राम सेतुका लागि १२ लाख भारतीय रूपैयाँ बजेट हुने एक अधिकारीले बताए।

- टाइम्स अफ इन्डिया डटकमबाट 
 

प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्