अबदेखि प्लास्टिक भाँडामा दूध बोक्न नपाइने
काठमाडौं, जेठ ८ : खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले अबदेखि प्लाष्टिकको भाडामा दूध बोक्न नपाइने नियम लागु गरेको छ।
काभ्रेका विभिन....
काठमाडौं, जेठ ८ : खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले अबदेखि प्लाष्टिकको भाडामा दूध बोक्न नपाइने नियम लागु गरेको छ।
काभ्रेका विभिन्न दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन गर्दा धेरै किसानले प्लास्टिकको भाँडामा दूध बोकिरहेको पाइएपछि विभागको धुलिखेल डिभिजन कार्यालयले यस्तो नियम लागु गरेको हो। काभ्रे धेरै दूध उत्पादन हुने जिल्ला हो। काठमाडौंमा पाइने ६० प्रतिशत दूध काभ्रेबाटै ल्याइन्छ।
स्टिल, आल्मुनियम वा अन्य धातुको भाँडामा राखिएको दूधभन्दा प्लास्टिकको भाँडामा राखिएको दूध छिटो दूषित हुन्छ। किनकि, प्लास्टिकका भाँडाभित्र राखिएको दूधमा किटाणु संक्रमण हुने सम्भावना ज्यादा हुन्छ। प्लास्टिक भाँडाको दूध छिटो फाट्छ पनि।
दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ले यसअघि नै प्लास्टिकको भाँडामा दूध बोक्न नपाइने भनेको थियो। तर, त्यसको कार्यान्वयन नभइरहेकोले विभागले कडाई गरेको हो।
केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न स्टिल तथा आल्मुनियमका भाँडा प्रयोग गरिसकेका र केहीले भाँडा बनाउन दिएको खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले बताएका छन्।
‘अब कृषकले विहानको दूध बिहानै र साँझको दूध साँझै बिक्री गर्नुपर्नेछ।’
भण्डारीका अनुसार केही व्यवसायीले स्टिल तथा आल्मुनियमका भाँडा बनाउन अनुदान मागेकाले सोसम्बन्धी छलफल पनि भइरहेको छ।
बासी दूध तताउँदा दूधको एसिडिटी बढ्छ र यस्ताे दूध सेवन गर्दा मानव स्वास्थ्यमा असर पर्छ। उनका अनुसार बासी दूध नजमोस् र नफाटोस् भन्नका लागि दूधमा काष्टिङ सोडा, चिनी र पीठो प्रयोग गरिएको हुन्छ। काभ्रेका केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न पुरानै विधि अपनाउने भन्दै अटेर गरेको भण्डारीले जानकारी दिए।
डिभिजन कार्यालयले पनौती नगरपालिकाको कुशादेवी, पाँचखाल र मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र र सङ्कलन केन्द्रको अनुगमन गरेको थियो। त्यस क्रममा सङ्कलन गरिएको नमूना बबरमहलस्थित खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालामा पठाइएको छ।
भण्डारीले भने, ‘दूधमा स्वच्छता कायम गर्न अनुगमन थालेका हौँ।’
दूधमा मानिसले खाने सोडा तथा साबुन बनाउन प्रयोग हुने काष्टिङ सोडा (जसले दूध जम्न र फाट्न दिँदैन), चिनी र पीठोलगायतका बस्तु मिसाउने गरेको जनगुनासो आएपछि अनुगमन गरिएको भण्डारीले बताए।
‘यो महिना खाद्य स्वच्छता दिवस पनि मनाइरहेकोले अनुगमन गरेका हौँ,’ उनले भने ।
अनुगमनका क्रममा दूधमा केमिकल नमिसाउन तथा प्लाष्टिकका भाडामा दूध बोक्न तथा भण्डारण नगर्न सचेत गराइएको छ। दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ अनुसार प्लाष्टिकका भाडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन।
उनले भने, ‘अब कृषकले विहानको दूध बिहानै र साँझको दूध साँझै बिक्री गर्नुपर्नेछ।’
निर्देशिका अनुसार दूधमा स्वच्छता कायम गर्न धुलिखेल डिभिजन कार्यालयले पनौती, नमोबुद्ध, भकुण्डे र पाँचखाल नगरपालिकाका दूध व्यवसायी एवं अगुवा कृषकलाई अभिमुखीकरण तालिम पनि दिएको छ।
क्रमैसँग जिल्लामा रहेका चिलिङ सेन्टर तथा दूध सङ्कलन केन्द्र अनुगमन गर्दै जाने खाद्य अनुसन्धान अधिकृत भण्डारीले बताए।












-(7)-1765197040.jpg)