नेपालको भौतिक पूर्वाधारमा लगानी आवश्यक : प्रचण्ड
काठमाडौं, जेठ ८ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगसँग नेपालको कृषिमा आधारित उद्योग, पर्य....

काठमाडौं, जेठ ८ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगसँग नेपालको कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको बताएका छन्।
दाहालको खुमलटारस्थित निवासमा भेटका लागि पुगेकी बेलायतीमन्त्रीलाई दाहालले देशको एक मात्र लक्ष्य आर्थिक समृद्धि भएको बताए । भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताएका थिए । उनले भने, ‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यावहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं।’
अध्यक्षले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचनपश्चात् अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको प्रष्ट्याउनुभयो । देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउनुहुँदै अध्यक्षले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औल्याए।
बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताइन् । उहाँले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरुको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताइन् । उहाँले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताइन्।











