Kathmandu Press

दाहाल–नेपाल निर्वाचनसँग तर्सिएका छन् : प्रधानमन्त्री

उनले काठमाडौं महानगर कमिटीद्धारा आयोजित भेलालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूह हार निश्चित हुने भएकाले निर्वाचनसँग डराएको बताएका हुन् ।
दाहाल–नेपाल निर्वाचनसँग तर्सिएका छन् : प्रधानमन्त्री

काठमाडौं, माघ १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल–नेपाल समूह निर्वाचनसँग डराएको बताएका छन् । उनले काठमाडौं महानगर कमिटीद्धारा आयोजित भेलालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूह हार निश्चित हुने भएकाले निर्वाचनसँग डराएको बताएका हुन् ।

उनले भने, ‘उनीहरु निर्वाचनसँग तर्सिएका छन् । चुनावबाट भागेका छन् । अहिले भागेर के गर्ने ? डेढ वर्षपछि  त जनताको बिचमा जानैपर्ला ।’

ओलीले दाहाल–नेपाल समूह निकै अप्ठेरोमा परेको दाबी गरे । उनले भने, ‘चुनावमा नजाऔँ भने लोकतन्त्र भन्ने ठाउँ रहँदैन । जाऔँ भने सबै सिङ फुक्लिएको छ ।  बाँकी रहेको सिङ पनि निर्वाचनमा भाँचिन्छ ।’ 

ओलीले देशलाई सांसद किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए ।

त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताए । उनले भने, ‘माघ २३ गते पहिलो चरण जनप्रदर्शन काठमाडौंबाट थाल्दै छौँ । दुई चार लाख भेला गरेर देखाइदिएपछि उनीहरुले थाहा पाउनेछन्, शक्ति प्रदर्शन के हो ?  शक्ति प्रदर्शनको झल्को देखाउनुपरेको छ ।’ उनले सो प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक, पत्रकारलगायतलाई अनुरोसमेत गरेका छन् । 
 

प्रकाशित मिति: १६:१३ बजे, शुक्रबार, माघ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्