दश प्रतिशत बढाएर ट्याक्सीको मिटर भाडा समायोजन
काठमाडौं, जेठ ८ : यातायात मन्त्रालयले बढाएको १० प्रतिशत भाडालाई नेपाल गुणस्तर तथा नापतौल विभागले समायोजन गरेको छ। विभागले बढेको भाडा अनुसार, ६ हजार ८७....

काठमाडौं, जेठ ८ : यातायात मन्त्रालयले बढाएको १० प्रतिशत भाडालाई नेपाल गुणस्तर तथा नापतौल विभागले समायोजन गरेको छ। विभागले बढेको भाडा अनुसार, ६ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको हो।
विभागले २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए। ‘मिटर र प्रिन्टर मेशिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौं,’ उनले भने।
विभागले दैनिक ८० देखि एक सय ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ। पहिला ट्याक्सी चलाउन थालेपछि शुरुमा १४ र एक किलोमिटर गुडिसकेपछि ५० रुपैयाँ उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि शुरुमा १५ र एक किलोमिटर गुडेपछि ५३ रुपैयाँ उठ्नेछ।
यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ । सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०७५ मंसिरदेखि हालसम्म मिटरमा जान नमान्ने तीन हजार ट्याक्सीलाई कारवाही गरेको छ।
महाशाखाका प्रमुख वसन्तकुमार पन्तले ट्राफिक प्रहरीमा ट्याक्सी चालक मिटरमा जान नमान्ने उजुरीका आधारमा कारवाही गर्दै आएको बताए। महाशाखाले दैनिक ४० ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाउँदै आएको छ।
नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत पुगेको बताए। ‘समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ,’ उनले भने।
यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६ सय मिटर ट्याक्सी सञ्चालनमा छन्। (रासस)











