Kathmandu Press

चितवनका सबै घरेलु हिंसामा मिलापत्र

चितवन माघ १५ : जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा...
चितवनका सबै घरेलु हिंसामा मिलापत्र

चितवन माघ १५ : जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो।

चालु आवको ६ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले कार्यालयमा खान लाउन नदिएकोमा १७, कुटपिट गरेकोमा १८ र गाली बेइज्जती गरेकोमा १३ वटा उजुरी परेका छन्।

घरेलु हिंसामा गत आर्थिक वर्षमा तुलनात्मकरूपमा कमी आएको छ। गत आव ०७६/७७ मा कूल ८४ वटा घरेलु हिंसाका उजुरी परेका थिए। तिनमा खान लाउन नदिएकोमा २५, कुटपिट गरेकोमा ३३ र गाली बेइज्जती गरेकोमा २६ वटा उजुरी परेका थिए। सबै उजुरीलाई मिलापत्रमा टुङ्ग्याइएको थियो।

आव ०७५/७६ मा कूल ३३५ वटा उजुरी परेका थिए। खान लाउन नदिएकोमा ८९, कुटपिट गरेकोमा १३० र गाली बेइज्जती गरेकोमा ११६ वटा उजुरी परेका थिए। ती सबै उजुरीलाई मिलापत्रमा टुङ्ग्याइएको थियो। ०७४÷७५ मा परेका कूल ३१५ वटा घरेलु हिंसाका मुद्दालाई पनि मिलापत्रमै टुङ्ग्याइएको थियो। खान लाउन नदिएकोमा ८०, कुटपिट गरेकोमा १७८ र गाली बेइज्जती गरेकोमा ५७ वटा उजुरी परेका थिए।

गत तीन वर्ष र चालु आवको ६ महिनाको तथ्याङ्कलाई हेर्दा कुटपिट गरेका उजुरी सबैभन्दा धेरै परेका छन्। सामाजिक र पारिवारिकरूपमा अन्तरविरोध नहोस् भनेर प्रहरीले घरेलु हिंसालाई सकभर मिलापत्रमा टुङ्ग्याउने गरेको छ। प्रवक्ता थापाका अनुसार घरेलु हिंसाका निवेदनलाई एक महिनासम्म दर्ता गरेर मात्र राखिन्छ। एक महिनासम्ममा परिवारमा उनीहरुको मेलमिलाप भइसकेको हुन्छ। यदि एक महिनासम्ममा पनि मेलमिलाप नभएमा मुद्दालाई अदालतमा लगिन्छ। अदालतमा पनि सकभर मिलाउने प्रयास गरिन्छ। आवेशमा आएर पीडितले उजुरी दिने गरेको भए पनि अधिकांश पीडितपछि मिल्न चाहने गरेका छन्।

प्रकाशित मिति: १०:२० बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्