Kathmandu Press

जंगलमा लागेको आगोबाट मानव बस्ती जोगाउनै हम्मेहम्मे

मनाङ, माघ १५ : मनाङ नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन। आगोले बृहत् रूप लिन थालेपछि बुधबार...
जंगलमा लागेको आगोबाट मानव बस्ती जोगाउनै हम्मेहम्मे

मनाङ, माघ १५ : मनाङ नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन। आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो। मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोँचे खतरामुक्त रहेको छ।

आगो मानव बस्ती नजिकै आइपुगेकाले निभाउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उनले बताए। उनले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताए। 

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ। धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी जलेको छ। यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको उनको भनाइ छ। आगोको लप्का र ढुङ्गा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि १०० जनाको टोली आगो निभाउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए। उनले भने, ‘अहिले हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्तीभन्दा १०० मिटर टाढा मात्रै आगो छ।’ उनले नयाँ दाउराघाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशङ्का व्यक्त गरे।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताए। उनले ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा निभाउन गाह्रो परेको बताए। गौतमले भने, ‘अहिले पनि हामी आगोसँग आगो जुधाएर निभाउने प्रयास गर्दै छौँ।’ यसैबीच सदरमुकाम चामे नजिकै तलेखुमा लागेको आगो निभाइएको गौतमले जानकारी दिए। 

यसैबीच थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि स्थानीयवासीहरूले त्रसित भएका छन्। आगलागीसँगै वन विनाश हुँदा महत्वपूर्ण जडीबुटी नष्ट हुने भन्दै उनीहरुले जङ्गली जनावरको बास उठेकोमा चिन्ता व्यक्त गरेका छन्। अग्ला पहाडमा रहेको जङ्गलको आगोले मानव बस्तीलाई जोगाउनुबाहेक निभाउन गर्न कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

मङ्सिर ११ गतेदेखि लागेको आगो पूर्णरूपमा निभाउन नपाउँदै फेरि आगो लाग्नुले मनाङका जङ्गल जलेर सकिने हो कि भन्नेमा पीर परेको स्थानीय वडाध्यक्ष छिरङ घ्ल्पो पुनेलले बताए। किन र कसले आगो लगाएको हो भन्नेबारे दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न स्थानीयवासीले माग गरेका छन्। 

प्रकाशित मिति: १०:१७ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्