Kathmandu Press

प्रहरीले गोली हानेका विप्लवका कार्यकर्ताको मृत्यु

भोजपुर, जेठ ८ : प्रहरीले गोली हानेपछि घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको मृत्यु भएको छ। उनी राज्यको तर्फब....

प्रहरीले गोली हानेका विप्लवका कार्यकर्ताको मृत्यु

भोजपुर, जेठ ८ : प्रहरीले गोली हानेपछि घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको मृत्यु भएको छ। उनी राज्यको तर्फबाट मारिने विप्लवका पहिलो कार्यकर्ता हुन्।

भोजपुरको षडानन्द नगरपालिका–२ का विप्लवका कार्यकर्ता तीर्थ घिमिरेलाई हिजो प्रहरीले गोली हानेर पक्राउ गरेको थियो। भोजपुरकै ट्याम्के मयुङ गाउँपालिका–१ स्थित घोत्रेखानी जंगलमा विप्लवका कार्यकर्ता रहेको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।

प्रहरी टोलीले गोली हानेर तीर्थ घाइते भएका थिए। उनको तिघ्रामा गोली लागेको थियो।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार, उनको प्राथमिक उपचार भोजपुरमै भएको थियो। त्यसपछि थप उपचारका लागि अन्यत्र लग्ने क्रममा हिजो राति बाटोमै मृत्यु भएको प्रजिअ खतिवडाले बताए।

प्रहरीले उनको साथबाट एक थान पेस्तोल, पाँच राउन्ड गोली, २५ मिटर कर्ड, बाइनाकुलर, बम बनाउन प्रयोग हुने डेटोनेटरलगायतका सामान बरामद गरेको थियो।

यसमा विप्लवको पार्टीले कुनै प्रतिक्रिया जनाएको छैन।

 

प्रकाशित मिति: १०:१४ बजे, बुधबार, जेठ ८, २०७६