राजपाले सदनबाट माग्यो संविधान संशोधन
काठमाडौं, जेठ ७ : राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सबैको अपनत्व हुने गरी संविधान संशोधन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आज....
काठमाडौं, जेठ ७ : राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सबैको अपनत्व हुने गरी संविधान संशोधन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै विशेष समय लिएर बोल्दै उनले एक वर्षसम्म पनि यो संविधान संशोधनको आश्वासन पूरा नगरेको आरोप लगाए।
यादवले भने, ‘ विगतमा संविान संशोधनलाई लिएर सरकारलाई हामीले समर्थन गरेका थियौँ । एक वर्षसम्म समर्थन गर्दा पनि सरकारले आश्वासन पूरा गरेन।’
विगतमा राजपा, फोरम, माओवादी र कांग्रेसले संविधान संशोधनका पक्षमा भोट हालेको स्मरण गर्दै उनले भने, ‘आज ती सबै पार्टी यहीँ छौँ । त्यसैले संशोधनको विषयमा सरकारको प्रष्ट धारणा हुनुपर्छ । अहिले नेपाली जनता पहिचान र अधिकारबाट बञ्चित छ । संविधानका केही कुरालाई हामीले आत्मसात गरेका छौँ । प्रदेशको मातहत स्थानीय तहलाई राख्नुपर्छ । सबैले अपनत्व लिनेगरी संविधान संशोधन हुनुपर्छ।’
उनले ०५२ सालमा माओवादीका ४१ बुँदे मागलाई समयमै सम्बोधन नगर्दा सशस्त्र द्वन्द्व भएको उदाहरण दिँदै भने, ‘हाम्रो मागलाई सुनुवाइ गरिएन भने परिणाम गम्भीर हुनसक्छ।’
यादवले मधेश आन्दोलनबारे छानबिन गर्न ०७३ असोज २ गते पूर्व न्यायाधीश गिरिशचन्द्र लालजीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । उनले भने, ‘जब हाम्रो धैर्यको बाँध टुट्छ, हामीले बाध्य भएर अर्को कदम चाल्नुपर्छ । त्यसको लागि सरकार जिम्मेवार हुन्छ।’
राजपाले संसद्को गरिमा बढोस् भन्ने चाहेको बताउँदै उनले भने, ‘नत्र हामी बाध्य भएर यो संसद् अवरुद्ध गर्नुपर्ने हुन्छ । यो संसद्को कारवाही अघि नबढाउन पनि सरकार जिम्मेवार हुन्छ । सरकारले त्यो वातावरण नबनाओस् । सभामुखबाट सरकारलाई फेरि एकपटक रुलिङ होस्।’











