Kathmandu Press

अनुचित व्यापारिक कारोवार गर्ने १०० भन्दा बढी फर्म कारवाहीमा

काठमाडौं, माघ ११ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ। विभागले अनुचित व्यापारिक...
अनुचित व्यापारिक कारोवार गर्ने १०० भन्दा बढी फर्म कारवाहीमा

काठमाडौं, माघ ११ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ। विभागले अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरुप जरिवाना गरेको हो। 

काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १३ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए। उनका अनुसार एक महिनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका ३५१ फर्मको अनुगमन गरिएको थियो। तिनमा १६८ फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको र एक लाख ३३ हजार रुपैयाँ बढीको म्याद सकिएका सामग्री नष्ट गरिएको, ६६ फर्मलाई स्पष्टीकरण सोधिएको तथा ६ फर्मबाट नमूना संकलन गरिएको जनाइएको छ। 

एक महिनाको अवधिमा सबैभन्दा धेरै खाद्यान्न पसललाई कारवाही गरिएको सूचना अधिकारी सेढाईले जानकारी दिए। उनका अनुसार १०६ खाद्यान्न पसलको अनुगमन गर्दा २७ फर्म अनुचित व्यापारिक कारोवारमा संग्लन भएको पाइएपछि कारवाही गर्दा ४४ लाख पाँच हजार रुपैयाँ राजश्व संकलन भएको छ। यसैगरी अनुगमन गरिएका खाद्यान्न फर्ममध्ये ६२ फर्मलाई सामान्य निर्देशन दिइएको, ५४ हजार रुपैयाँ बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको र १६ फर्मलाई स्पष्टीकरण सोधिएको थियो। 

अनुगमनका क्रममा अण्डा तथा दाना, अस्पताल, आयातकर्ता, उद्योग, कपडा पसल, कस्मेटिक तथा किराना पसल, खाद्यान्न, दाना उत्पादन, डिपार्टमेन्ट स्टोर, निर्माण सामग्री, मदिरा पसल, मार्ट र मासु पसल तथा फार्मेसी पसलको अनुगमन गरिएको थियो। 

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजार रुपैयाँदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ। 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्