सचिवालयमै अल्पमतमा परेपछि ओलीलाई अप्ठ्यारो
काठमाडौं, जेठ ७ : प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीको केन्द्रीय सचिवालयमै स्पष्ट अल्पमतमा परेका छन्। अर्का अध्यक्ष पुष्पकमल ....
काठमाडौं, जेठ ७ : प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीको केन्द्रीय सचिवालयमै स्पष्ट अल्पमतमा परेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एकजुट देखिँदै गएपछि ओलीलाई अप्ठ्याराे पर्दै गएको छ।
दुई अध्यक्षसहित नाै सदस्यीय सचिवालयमा अहिले स्पष्ट बहुमत विपक्षमा गएको छ। त्यसैले ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई आफ्नो क्याम्पमा ल्याउन फकाउने प्रयास गरेका छन्। तर, खनाललाई रिझाउन ओली अझै सफल हुन सकेका छैनन्।
त्यसैगरी अर्का सदस्य साविक माओवादी केन्द्रका नेता गृहमन्त्री रामबहादुर थापा बादललाई पनि आफ्नो क्याम्पमा ल्याउने प्रयासमा छन्। स्रोतका अनुसार, अध्यक्ष ओली बादललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएर आफ्नो क्याम्पमा तान्न चाहन्छन्। तर, अध्यक्ष प्रचण्डले समेत स्वीकार नगरी यो प्रस्ताव सचिवालयबाट पारित हुने संभावना छैन।
यसअघि संगठन विभागको प्रमुख महासचिव नै हुने व्यवस्था थियो। गुटको बहुमत पुर्याउनकै लागि त्यो महत्वपूर्ण जिम्मेवारी महासचिवबाट झिकेर अर्को सदस्यलाई दिन लागेका हुन्।
सचिवालयमा बहुमत पुर्याउनकै लागि अध्यक्ष ओलीले त्यहाँबाट वामदेव गौतमलाई हटाउने र उनको ठाउँमा सुवासचन्द्र नेम्वाङलाई ल्याउने पनि तयारी गरेका थिए। उक्त प्रस्तावमा पनि गौतमलाई हटाउन प्रचण्ड सहमत नहुने भएपछि बीचैमा हराएको छ।
अहिले नेकपा सचिवालयमा ओली गुटमा उनीसहित ईश्वर पोखरेल, विष्णु पौडेल मात्र खुलेका छन्। बादलले पनि साविक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साटो ओलीप्रति नै झुकाव देखाउँदै आएका छन्। आफूलाई धोका दिएर बैद्यसँगै पार्टी फुटाएर गएका बादललाई प्रचण्डले ‘प्रमोट’ गर्न चाहँदैनन्।
सचिवालयमा बहुमत नभएकै कारण नेकपाको जिल्ला तहको एकतामा माधव–झलनाथ खेमालाई शून्य बनाउने ओली पक्षको योजना सफल हुन सकेकाे छैन। यद्यपि, ओलीले माधव नेपाल खेमाका जिल्ला अध्यक्ष भएको ठाउँमा प्रभावशाली अध्यक्ष हुँदाहुँदै पनि अध्यक्ष माओवादीलाई दिएर साविक एमालेलाई सचिव बनाएका थिए।
नेपाल पक्षलाई दुई जना अध्यक्षभन्दा बढी दिन तयार नभएका ओली त्यसमा प्रचण्डसमेत सहमत नभएपछि १६ जना अध्यक्ष र २२ जना सचिव माधव नेपाल पक्षलाई दिन बाध्य भएका थिए। वामदेव गौतमलाई चिढ्याएपछि ओली अल्पमतमा पुगेका थिए।
याे पनि पढ्नुहाेस् :






