पोस्ट कोभिड पर्यटन : ‘भ्याकेसन’ होइन, ‘भ्याक्सिन’ यात्रा
अमेरिकाका सडकमा लस्कर निस्किन थालेका छन्। तर, त्यस्तो लस्करको गन्तव्य सिकागो, लासभेगास या डिज्नी वल्ड होइन, कोरोनाविरुद्ध खोपको खोजीमा उनीहरू यत्रतत्र घुमिरहेका छन्।
अमन्डा एल गोर्डोन, सेली बेन्जो र हेनरी गोल्डम्यान
अमेरिकीहरू सामूहिक रूपमा यात्रामा निस्किने प्रचलन पुरानै हो। कोभिड-१९ जोखिमबीच यो प्रचलन अहिले पनि कायम छ तर अलि भिन्न रूपमा। अमेरिकाका सडकमा लस्कर निस्किन थालेका छन्। तर, त्यस्तो लस्करको गन्तव्य सिकागो, लासभेगास या डिज्नी वल्ड होइन, कोरोनाविरुद्ध खोपको खोजीमा उनीहरू यत्रतत्र घुमिरहेका छन्।
वेबसाइटलाई माध्यम बनाउँदै खोप वितरण प्रक्रियामा प्राविधिक समस्या, सहरहरूमा खोप अभाव र अनावश्यक योग्यता परीक्षणजस्ता समस्याले मानिस हैरान बनेका छन्। त्यसैले मानिसहरू कोरोनाबाट ज्यान जोगाउने उपायको खोजीमा सहरबाहिरको यात्रामा निस्किन थालेका छन्। उनीहरूमध्ये कतिपय राम्रो आर्थिक हैसियतका पनि छन्।
खोपको उपलब्धता ज्यादा भएका सहरहरू मियामी, हवाईको समुद्री किनारका रिसोर्ट, कोलोराडो, न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा मानिस बढी एकत्रित भइरहेका छन्। कति अमेरिकी खोपको खोजीमा यात्रामा निस्केका छन् भन्ने यकिन आँकडा कसैले निकालेको छैन। तर, दशौँ हजार अमेरिकी कोरोनाबाट जीवन बचाउने उपायको खोजीमा भौंतारिइरहेको आकलन छ।
जस्तो- फ्लोरिडामा मात्र खोप लगाएकामध्ये ३७ हजारभन्दा बढी मानिस अन्य राज्यबाट आएका थिए। त्यसबाहेक अन्य एक लाखजना त्यहाँका व्यवसायी र अस्थायी बासिन्दा थिए।
‘ब्लुमबर्ग खोप ट्रयाकर’का अनुसार अमेरिकाभर एक करोड ७० लाखभन्दा बढी डोज खोप दिइएको छ। स्वास्थ्य नीतिसम्बन्धी विज्ञका अनुसार जति खोप वितरण हुनसक्यो, त्यति नै राम्रो हो। तर, पर्याप्त सम्पत्ति नभएकाले यात्रा गर्न नसक्ने या स्वास्थ्य अवस्था खराब भएर हिँडडुल गर्न नसक्नेका लागि खोप पर्यटन चिन्ताको विषय बनेको छ।
एक राज्यका मानिसलाई अर्को राज्यले खोप वितरण गर्नुले थुप्रै नैतिक प्रश्न पनि उब्जेका छन्। पर्यटन उद्योगले विज्ञापनमार्फत यस्ता नयाँ अभियानबारे नियम बनाउन सकेको छैन। स्वास्थ्य विशेषज्ञहरू यस्तो यात्राबारे चिन्तित देखिन्छन्। ‘बढीभन्दा बढी मानिसलाई खोप दिन हरप्रयास हुनुपर्छ, जसबाट कोभिड प्रसारमा नियन्त्रण हुनसक्छ,’ दक्षिण फ्लोरिडा विश्वविद्यालयका सार्वजनिक स्वास्थ्यसम्बन्धी प्राध्यापक मारिसा जे लेभाइन भन्छिन्, ‘हामी यस्तो स्थितिमा छौँ, जहाँ आपूर्तिभन्दा माग निकै बढी छ। यसकारण मानिसहरू आफ्नो खोप अन्य कसैले लगे भनेर चिन्ता गर्छन्, जब कि त्यो हामी सबैको हो।’
भर्जिनिया राज्यमा चार वर्ष स्वास्थ्य आयुक्त भई काम गरेकी लेभाइनको विचारमा प्राविधिक रूपमा हेर्दा खोपहरू राज्यका सम्पत्ति हुन्, जुन कुनै एक समुदायमा सीमित हुँदैन। ‘यसलाई केवल एक बासिन्दाको मात्र आवश्यकता बनाएर राख्न गाह्रो हुन्छ,’ उनी भन्छिन्।
कोलोराडोको स्की सहरका बासिन्दालाई सीमित खोप प्रदान गरिएको छ। केही सातापछि फेरि दोस्रो खोपका लागि उनीहरू आउनेछन्। युटा राज्यको समिट काउन्टीका बासिन्दा तथा त्यहाँको स्वास्थ्य विभागका प्रवक्ता डेरेक सिदोवेका अनुसार काउन्टीबाहिरबाट कामदार पनि खोपका लागि आइरहेका छन्। ‘यो निकै खुशीको कुरा हो,’ उनी भन्छन्, ‘हामी कसैलाई खाली हात फर्काउने छैनौँ।’
ब्लुमबर्ग डटकमबाट



-1776510445.jpg)
-1755950009.png)







