झापा कारागारमा ६० विदेशी कैदीबन्दी
झापामा हुने अपराधका घटनामा विदेशी नागरिकसमेतको हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा...
झापामा हुने अपराधका घटनामा विदेशी नागरिकसमेतको हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्यांक देखाएको छ ।
कारागारको तथ्यांकअनुसार तीन महिलासहित ६० जना विदेशी नागरिक झापामा भएका विभिन्न अपराधका घटनामा संलग्न भएपछि कैद भुक्तान गरिरहेका छन् । अपराधमा संलग्नमध्ये धेरै भारतीय नागरिक छन् । अपराधमा संलग्न विदेशी नागरिकमध्ये लागूऔषध मुद्दामा एक महिला र चोरीमा दुई महिलाले जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका छन् ।
करागारमा रहेका ५७ विदेशी पुरुषमध्ये अप्राकृतिक मैथुनसहित खोटा चलन, किर्ते, अभद्र व्यवहार, डाका अपहरण, जबर्जस्ती करणी, लागूऔषध, कर्तव्य ज्यानलगायतका मुद्दामा जेल जीवन बिताइरहेका छन् । तीमध्ये लागुऔषध मुद्दामा मात्रै २१ जनाले सजाय भुक्तान गरिरहेका छन् ।
त्यस्तै कर्तव्य ज्यान तथा ज्यान कसुरमा सात, जबर्जस्ती करणीमा पाँच, अपहरणमा पाँच, डाका मुद्दामा दुई, गौबध मुद्दामा एक, खोटा चलनमा एक, कीर्तेमा दुई, अभद्र व्यवहारमा एक र अप्राकृतिक मैथुनका मुद्दामा एक जना गरी ५७ जनाले कैद भुक्तान गरिरहेको जिल्ला कारागारले जनाएको छ ।











