हकर संस्कृति जोगाउने चुनौतिमा सिंगापुर
काठमाडौं । परम्परागत खानपानप्रति सिंगापुरका बासिन्दाको अथाह लगाव छ। त्यहाँका हकर स्टल (खाना बिक्री गर्ने ठाउँ) मा मानिसहरू चार क्विई टाउ (फ्राइड राइस नुडल्स)...काठमाडौं । परम्परागत खानपानप्रति सिंगापुरका बासिन्दाको अथाह लगाव छ। त्यहाँका हकर स्टल (खाना बिक्री गर्ने ठाउँ) मा मानिसहरू चार क्विई टाउ (फ्राइड राइस नुडल्स) र प्राउन नुडल्स खान घण्टौँ लाइनमा उभिन्छन्। यसलाई सिंगापुरको संस्कृति मानिन्छ। यो संस्कृतिलाई अमूर्त सांस्कृतिक विरासतको दर्जा दिने प्रक्रियामा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) छ ।
हकर संस्कृति भनेको सिंगापुरको खाना बिक्री गर्ने साना फुड कोर्ट र भोजनालयलाई बुझिन्छ, जहाँ मानिसहरू बसेर इच्छाबमोजिम खाना खान्छन्। यस्ता भोजनगृहहरू सिंगापुर सहरभर छ्याप छ्याप्ती देखिन्छन् । सिंगापुरका बासिन्दा मात्र होइन, त्यहाँ पुगेका विदेशीसमेत स्थानीय खानाको स्वाद लिन हुरुक्क हुन्छन्। सिंगापुरको स्वादअनुसार यस्ता व्यञ्जनहरूलाई विदेशीहरूले स्ट्रिट फुड संज्ञा दिने गरेका छन्।
युनेस्कोले हकर संस्कृतिलाई अमूर्त सम्पदाको सूचीमा राख्ने निर्णय लिँदै गर्दा यसलाई जोगाउने चुनौति पनि छ ।
हकर संस्कृतिको टिकाउने चुनौति
सिंगापुरले यस संस्कृतिलाई बचाउन गरेका महत्वपूर्ण प्रयाससम्बन्धी प्रतिवेदन अब हरेक ६ वर्षमा युनेस्कोलाई बुझाइरहनुपर्नेछ। यस्ता प्रयास अहिलेसम्म निकै कम भएकाले यसको संरक्षणका चुनौती र जटिलता धेरै छन्।
सबैभन्दा ठूलो चुनौति यस संस्कृतिलाई उद्योग बनाउन अग्रसर हुने सिंगापुरका युवा घट्दै जानु हो । बढ्दो आपूर्ति, कम लागतका खाद्यान्नको माग र कामदार लागत थप चुनौति हुन् । सरकारी विज्ञहरूको एक रिपोर्टअनुसार हकर स्टलका खाद्य वस्तुको लागतको ५९ प्रतिशत अंश कच्चा मालको खरिदमा लाग्छ। कच्चा मालको लागतमा एक प्रतिशत वृद्धि हुँदा खाद्यान्नको मूल्य ०.५६ प्रतिशत बढी तोक्नुपर्छ। र, खानाको मूल्य बढाउँदा स्टलमा आउने मानिस घट्न सक्छन्। त्यसैले स्टलका सञ्चालकहरू खानाको लाभांशबाट २० देखि ३० सेन्ट घटाउँछन्।
हकर स्टलमा काम गर्ने धेरै युवा आफ्नो व्यक्तिगत लाभलाई बेवास्ता गर्दै घण्टौँ मिहिनेत गर्छन्। कामको प्रकृति र लक्षित ग्राहकको सुविधाका लागि उनीहरू नोक्सानी बेहोर्न बाध्य छन्। चौबीसै घण्टा खुल्ने स्टलमा युवाले २० घण्टासम्म काम गर्छन् । उनीहरू सार्वजनिक र चाडपर्वको बिदामा पनि खाली बस्दैनन्। कतिपय कर्मचारी सुरुमा केवल १४ घण्टा काम गर्नुपर्ने ठानेर आएका थिए । तर, वास्तविकता फरक भएको गुनासो उनीहरूको छ । केवल खाना बिक्री मात्र नभई जनशक्ति र अर्थ व्यवस्थापन, सामग्री ओसारपसारलगायत थुप्रै प्रबन्ध मिलाउनुपर्छ उनीहरूले ।
स्टलमा खान आउने अधिकांश युवा सामाजिक जमघट गर्न रुचाउँछन्। त्यसको उचित व्यवस्थापनका लागि शिल्पकला, खानालाई सजाउने र सामाजिक सञ्जालमा आफ्ना स्टलका विशिष्टता झल्काउने क्रियाकलाप पर्छन्। यस्ता क्रियाकलापले त्यहाँको खाद्य संस्कृतिलाई झल्काउँछ। यो ट्रेन्डले सिंगापुरमा खाना र पेय पदार्थको उद्योगमा प्रतिस्पर्धा सिर्जना गरेको छ।
धेरै हकर स्टलहरू उत्कृष्ट व्यञ्जनलाई पनि नवीनता दिने प्रयास गर्छन्। ‘टाङ के की फिसहेड बी हुन’ नामक स्टलका चौथो पुस्ताका मालिकले बनाएको नयाँ परिकार हेरौँ। त्यहाँ इनोकी नामक च्याउ र ‘सु–भाइड एग’लाई सिंगापुरको उत्कृष्ट हरफन नुडल्ससँग मिसाएर दिइन्छ। यस खानालाई युवा औधी मन पराउँछन्। सु–भाइड भनेको खानालाई हावा नछिर्ने प्याकेटमा हाली बाफद्वारा पकाउने एक आधुनिक प्रविधि हो।
हकर स्टलमा कोभिड–१९ प्रभाव
कोभिड महामारीका कारण हकर संस्कृतिलाई ठूलो क्षति पुगेको छ। ग्राहकहरू घरभित्र थुनिएका छन् र विदेशी कामदार आफ्नै देश फर्केका छन् । सोही कारण यस व्यवसायमा गम्भीर प्रभाव परेको छ। सरकारले केवल एक महिनाको भाडा मात्र माफी दिएर सञ्चालकको बोझ हल्का गर्ने प्रयत्न गर्यो। तर, व्यवसाय डुब्ने जोखिम उत्तिकै छ।
महामारीका बेला सिंगापुर सरकारले सन् २०२० मा हकर्स गो डिजिटल योजना ल्यायो । स्टल सञ्चालकलाई सहयोग पुर्याउने यस्ता योजनामा ग्राहकले इन्टरनेटबाट भुक्तानी गर्न सक्ने सुविधा थियो। त्यसबाहेक ग्र्याब नामक निजी कम्पनीले खानालाई अनलाइन अर्डर र वितरण सुविधाका लागि ‘हकर सेन्टर २.०’ नामक एप कार्यान्वयनमा ल्याएको छ। यस एपको उद्देश्य हकर स्टललाई डिजिटलाइज्ड गर्ने हो।
यो एपको प्रयोगपछि हकर स्टलहरूको बिक्री बढेको छ । तथापि, हरेक बिक्रीको २५ देखि ३० प्रतिशत रकम यस्ता अनलाइन एपलाई सेवाशुल्कका रूपमा बझाउनुपर्छ। यसले थप चुनौति सिर्जना गरेको छ । सोही कारण हक स्टल सञ्चालकहरूले थप राहत माग गर्दै आएका छन् ।
कठिन तर आशाजनक यात्रा
हकर संस्कृति जोगाउन र स्थायित्व दिन बाधा प्रशस्त छन् । तथापि, युनेस्कोको निर्णयबाट यस उद्योगमा संलग्न युवामा सकारात्मक ऊर्जा प्रवाह भएको छ । फुड ब्लगर, लेखक तथा डाक्टर लेस्ली टे युनेस्कोले सिंगापुरको संस्कृतिलाई चिन्नु धेरै महत्वपूर्ण सफलता मान्छन्।
‘युनेस्कोको मान्यतासँगै सरकारले यस संस्कृतिलाई जोगाउन र पर्यटक आकर्षण बढाउन सम्भवतः बढी स्रोत जुटाउनेछ,’ उनी भन्छन् । लेस्ली टेले ‘द इन्ड अफ चार क्विई टाउ एन्ड अदर हकर मिस्ट्रिज’ नामक पुस्तकमा नयाँ पुस्ताका हकरले पुरानो चार क्विई टाउको स्वाद नै अन्त्य गर्ने आकलन गरेका छन्। सरकारले गरेका प्रयत्न संस्कृतिलाई जीवित राख्न अपर्याप्त भएको उनी बताउँछन्।
सरकारी अनुदानभन्दा महत्वपूर्ण पक्ष सिंगापुरवासीले यसको मूल्य बुझ्न जरूरी भएको लेस्ली टेको भनाइ छ। सिंगापुरवासीले आफ्ना सन्तानलाई संस्कृतिप्रति गर्व महसूस गराउने र उनीहरूलाई यस्तो खानाप्रति रुचि बढाउन प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ। त्यहाँको युवा पुस्ताले आफ्ना अभिभावकको स्टल सम्हाल्न नवीन उपायहरू खोज्न सक्छन्।
औसत ६० वर्षदेखि निरन्तर हकर स्टल चलाउनेहरू छन्, सिंगापुरमा । त्यसकारण लेस्ली टेका अनुसार युनेस्कोले पुरस्कारस्वरूप ५० वर्षभन्दा बढीका हकर स्टललाई प्रशंसापत्र प्रदान गर्नुपर्छ । यसले संस्कृतिको मूल्य र मान्यतालाई प्रोत्साहन गर्ने र आउँदो पुस्ताका लागि सीप हस्तान्तरण गर्न बाटो खुल्ने उनी बताउँछन्।
सिंगापुरको हकर उद्योगको भविष्य केवल आकांक्षी हकर या सरकारी अनुदानमा मा निर्भर छैन, समग्र देशकै योगदान आवश्यक देखिन्छ। युनेस्कोले दिएको प्रतिष्ठित मान्यता र शक्तिद्वारा भविष्यमा अधिक पर्यटन प्रोत्साहित गर्नसकिन्छ । यद्यपि, यसका प्रयासहरू सफल होलान् या नहोलान् भन्ने समयले नै बताउनेछ। त्यतिन्जेल यो संस्कृतिको संरक्षणमा कठीन र आशाजनक यात्रा जरुरी देखिन्छ ।
- द डिप्लोम्याट डटकमबाट