पशुपति धर्मशाला होटललाई भाडामा
काठमाडौं जेठ ६ : पशुपतिनाथ क्षेत्रमा निर्माण गरिएकाे नेपाल–भारत मैत्री पशुपति धर्मशाला पोखरास्थित होटल आनन्द म्यानेजमेन्ट प्रालिलाई भाडामा दिइएक....
काठमाडौं जेठ ६ : पशुपतिनाथ क्षेत्रमा निर्माण गरिएकाे नेपाल–भारत मैत्री पशुपति धर्मशाला पोखरास्थित होटल आनन्द म्यानेजमेन्ट प्रालिलाई भाडामा दिइएको छ।
गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो धर्मशालाको उद्घाटन गरेका थिए। त्यसयता संचालनमा आएको थिएन। अहिले यो धर्मशाला संचालनका लागि होटल आनन्द म्यानेजमेन्ट प्रालिलाई भाडामा दिइएको हो।
नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको निमित्त पशुपति क्षेत्र विकास कोषले खुला प्रतिस्पर्धाबाट बोलपत्र आह्वान गरेको थियो। बोलपत्रको प्राविधिक र आर्थिक मूल्यांकनमा होटल आनन्द म्यानेजमेन्टको प्रस्ताव उत्कृष्ट ठहरिएकाले १० वर्षका लागि भाडामा दिइएको कोषका सदस्य–सचिव डा.प्रदीप ढकालले बताए।
आनन्द म्यानेजमेन्टले कोषलाई वार्षिक एक करोड पाँच लाख ४१ हजार ६ सय १८ रुपैयाँ बुझाउने शर्तमा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
तिलगंगास्थित १९ रोपनी छेत्रफल जग्गामा निर्माण भएको यो आकर्षक भवनमा ८० कोठा छन्। परम्परागत नेपाली शैलीमा निर्माण भएको धर्मशालामा मल्लकालीन रातो इँटा ‘दचि अपा’को प्रयोग गरिएको कोषले जनाएको छ।
नेपाल–भारत मैत्री धर्मशाला भवनका कोठाहरूलाई सुविधासम्पन्न होटलसरह स्तरोन्नति गर्ने होटल आनन्द म्यानेजमेन्टका सञ्चालक ओस्कार बतास बताउँछन्। उनका अनुसार बाहिरी संरचनामात्रै तयार भएको धर्मशालाका भित्रि कोठाहरूमा एट्याच बाथरुम, एसी, टिभीलगायतका सुविधा रहनेछन् । ‘हामीले यो पूर्ण तयारी गर्दै सञ्चालन गर्न कम्तिमा सात करोड खर्च लाग्ने अनुमान गरेका छौं,’ बतासले भने।
सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी प्रतिस्पर्धामक रूपमा हस्तान्तरण गर्न केही ढिला भएपनि धर्मशाला भवन हस्तान्तरण भइसकेकाले अब सञ्चालनमा कुनै द्विविधा नरहेको कोषका सदस्य–सचिव ढकालको भनाइ छ ।
‘धर्मशाला सञ्चालन गर्दा हुने वार्षिक आम्दानीको कम्तीमा पाँच प्रतिशत रकम सामाजिक सेवामा लगाउनुपर्ने र शुद्ध शाकाहरी भोजनमात्र खुवाउन पाइने तथा मादकपदार्थ बिक्री तथा प्रयोग गर्न नपाइने अनिवार्य शर्तसहित हामीले उहाँहरूलाई जिम्मेवारी दिएका हौं,’ ढकालले भने।
धर्मशाला भवन सञ्चालनसँगै न्यूनतम एक सय ४४ जनाले रोजगारी पाउने जनाइएको छ। यस्तै, धर्मशालाको सेवा लिएबापत सेवाग्राहीले प्रतिरात तीन सय ५० रुपैयाँदेखि तीन हजार नौ सय ९९ रुपैयाँसम्म शुल्क बुझाउनुपर्नेछ।
सञ्चालक बतासका अनुसार करार अवधि समाप्तिसम्ममा कोषलाई होटल आनन्द म्यानेजमेन्टले भाडाबापत न्यूनतम २१ करोड रुपैयाँ भुक्तानी गर्नेछ भने आउँदो दशैंसम्ममा सञ्चालन गर्नेगरीे तयारी भइरहेको छ।






