Kathmandu Press

अझै पाएनन् उखु किसानले बाँकी रकम

सर्लाही, माघ ८ : सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन्। सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता...
अझै पाएनन् उखु किसानले बाँकी रकम

सर्लाही, माघ ८ : सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन्। सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन्। 

किसानले काठमाडौँमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दोलन गरेका थिए। सरकारले किसानसँग २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने गरी सम्झौता भएको थियो। तर किसानले अहिलेसम्म पनि पूरै भुक्तानी पाउन सकेका छैनन्।

जिल्लामा सञ्चालित तीन चिनी मिलमध्ये दुईले गत वर्षसम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन्। तर धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले भने किसानलाई तिर्न बाँकी करिब १७ करोड रुपैयाँमध्ये ११ करोड ४७ लाख रुपैयाँ रकम किसानको खातामा हालिसकेको बताइएको छ। उद्योगीको खातामा करिब दुई करोड रुपैयाँ रहेको भए पनि सञ्चालक सम्पर्कमा नरहेकाले किसानको खातामा मात्र हाल्न मिल्ने गरी राष्ट्र बैंकमार्फत सर्कुलर जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। किसानलाई भुक्तानी गरिएको र बैंकमा जम्मा रहेको रकम दुवैलाई हेर्दा किसानले अझै पनि पूरा रकम पाउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

उद्योगीले उखु खरिद गरेवापत किसानलाई अझै पनि करिब तीन करोड ५३ लाख रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ। यसरी सरकारले किसानलाई प्रत्येकपटक आन्दोलन गर्दा उद्योगीबाट रकम उपलब्ध गराउने आश्वासन दिने गरेको भए पनि सम्झौताअनुसार आफूहरुले भुक्तानी नपाएको नेपाल उखु उत्पादक महासंघ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले बताए। सरकार र उखु उत्पादक किसानबीच पटक–पटक सम्झौता हुने तर उक्त सम्झौता कार्यान्वयन नहुँदा किसानमा निराशा छाउनुका साथै सरकारप्रतिको विश्वसनीयता कम हुँदै गएको नेपाल उखु उत्पादक महासंघ सर्लाहीका अध्यक्ष मैनालीले बताए।

उखु बिक्रीवापतको भुक्तानी दिलाइदिन माग गर्दै प्रत्येक वर्ष किसान काठमाडौँको माइतीघरमा गएर गर्मी जाडो केही नभनी आन्दोलन गर्ने गरेका छन्। किसानलाई भुक्तानीका लागि प्रत्येक वर्ष सास्ती खेपाउनुभन्दा सरकार आफैँ जवाफदेही भएर बाँकी बक्यौता भुक्तानीमा सहजीकरण गरिदिनुपर्ने अध्यक्ष मैनालीको भनाइ छ। त्यसैगरी स्थानीय प्रहरी प्रशासनको प्रयासमा धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले करिब आठ करोड रुपैयाँ रकम किसानको खातामा हालिसकेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

हरिवन नगरपालिका–११ को इन्दुशङ्कर चिनी उद्योगले चालु सिजनमै खरिद गरेको उखुको भुक्तानी दुई चरणमा गरी करिब २० करोड रुपैयाँ भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। करिब सात लाख २० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले भुक्तानीलाई पनि निरन्तरता दिएको छ।

प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्