Kathmandu Press

निजी कलेजलाई सम्बन्ध दिए अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, चैत १ : निजी मेडिकल कलेजलाई सम्बन्धन दिएमा जुनसुकै बेला पनि अनशन बस्ने डा. गोविन्द केसीले चेतावनी दिएका छन्।आइतबार विज्ञप्ति जारी गरि...
निजी कलेजलाई सम्बन्ध दिए अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, चैत १ : निजी मेडिकल कलेजलाई सम्बन्धन दिएमा जुनसुकै बेला पनि अनशन बस्ने डा. गोविन्द केसीले चेतावनी दिएका छन्।

आइतबार विज्ञप्ति जारी गरि झापास्थित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोक्न आग्रह गरेका छन्। ‘सम्बन्धनका लागि सरकारले चालेको अवैध प्रक्रिया तत्काल रोक्न र प्रधानमन्त्री लगायत अनियमिततामा संलग्न पदाधिकारीहरुको राजीनामाको माग गर्दछौं, माग पूरा नभएमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने पनि जानकारी गराउन चाहन्छौं,’ डा. केसीले भनेका छन्।

बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालय र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच १० बुँदे सम्झौता गरिएको छ। गतहप्ता शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गराएको सम्झौतामा विश्वविद्यालयले सम्बन्धन दिने र प्रतिष्ठानले मेडिकल कलेजको शैक्षिक लगायत अन्य पक्षको नियमन अनुगमन गर्ने उल्लेख छ।
यसअघि काठमाडौं विश्वविद्यालयको सभाले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री श्रेष्ठको ठाडो निर्देशनमा बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको थियो। यस मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँ हुन्।

प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दूषित स्वार्थपूर्तिका लागि कानुन बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने कार्य गर्दै आएको डा. केसीले बताएका छन्।

‘आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि उनी नै हुन्। आफ्ना अर्थ–राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउनका लागि ओली मन्त्रीमण्डलका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, धुलिखेलस्थित काठमाडौ विश्वविद्यालय तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका नैतिकताहीन स्वार्थी पदाधिकारी तथा अन्य आसेपासेलाई उनले परिचालन गरी रहेको कुरा सर्वत्र सार्वजनिक भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति: २१:१७ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्