राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमका लागि नयाँ आवेदन माग
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि यसअघिका आवेदन खारेज गरी नयाँ आवेदन माग गरेको छ ।
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि यसअघिका आवेदन खारेज गरी नयाँ आवेदन माग गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा भएको मन्त्रालयको निर्देशक समितिको बैठकले यसअघि राष्ट्रपति कार्यालयबाट प्रक्रिया पूरा गरी प्राप्त निवेदनबाहेक अन्य निवेदन खारेज गरी शिक्षा विकास तथा मानव स्रोत केन्द्रबाट नयाँ प्रक्रिया सुरु गरेको छ । यही माघ २० गतेभित्र आवेदन दिन आह्वान गरिएको छ ।
यसअघि गत वर्ष आवेदनबाट प्राप्त ३ हजार १४७ वटा निवेदन खारेज गरिएको छ । यसअघि आएका सबै निवेदन खारेज भएको केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले जानकारी दिए । चालु आवको बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५ अर्ब १० करोड बजेट छुट्टयाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम कार्यान्वयन गर्ने विषयमा चासो देखाएलगत्तै मन्त्री श्रेष्ठले प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।











