पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।
काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।
पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए ।
बजेट, मौद्रिक नीतिलगायतमा उल्लिखित कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढ्न र कठिनाइ परे सहजीकरण र सहयोग गर्न सरकार तयार रहेको बताए ।
कोभिड–१९ को खोप आइसकेपछि स्थिति सहज हुने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत् डिमान्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।











