बेवारिसे शवको तथ्यांक अद्यावधिक गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न सरकारसँग आग्रह गरेको छ । आयोगमा प्रवक्ता डा. टीकाराम...
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न सरकारसँग आग्रह गरेको छ । आयोगमा प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न र शवको पहिचान गरी उनीहरूका आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पहिचान, धर्म, संस्कृति र परम्पराअनुरूप प्रत्येक व्यक्ति र निजको परिवारले मृतकको अन्त्येष्टि गर्न पाउनुपर्ने अधिकारको सम्मान गर्दै बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न, शवको पहिचान गरी उनीहरूका आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउन तथा यसअघि आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकारलाई पुनःध्यानाकर्षण गराउँदछ ।’
पहिचान नखुलेका शवको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यासअनुरूप अद्यावधिक गर्नुपर्नेलगायतका माग राखी डा सुगम केसी, सुनिल महर्जन र रोहित श्रेष्ठ १० दिनदेखि माइतीघर मण्डलामा धर्नामा रहेको अवस्था सम्बन्धमा आयोगले अनुगमन गरेको छ ।
पहिचान नखुलेका शवको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको कानूनी व्यवस्था निर्माण गरी कार्यान्वयन गर्न र आवश्यक निर्देशिका बनाई शवको अभिलेख दुरुस्त हुने गरी अस्थायी समाधिमा व्यवस्थापन गर्न सरकारलाई २०७४ फागुन २ गते सिफारिस गरेको स्मरण गराइएको छ ।











