अलपत्र नेपाली ल्याउन पहिलोपटक निगमले मकाउमा उडान गर्दै
मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो ।
काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ ।
कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो । निगमका अनुसार आज राति ११ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०ः५० बजे काठमाडौँ अवतरण गर्नेछ ।
मकाउबाट दुई बच्चासहित १४५ यात्रु नेपाल फर्कनेछन् । निगमको मकाउ चार्टर्ड उडानका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतावासले समन्वय तथा सहयोग गरेको प्रवक्ता श्रेष्ठले बताए ।











