नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि
काठमाडौं, माघ ६ : नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ। दुई वर्षदेखि हड्डीको...
काठमाडौं, माघ ६ : नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ। दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो।
पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र सेवन गरी साधना गरिरहेकाले उनमा हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ छ। त्यहाँ घिमिरेको नेतृत्वमा ३३ रोपनी क्षेत्रफलमा नौतले विन्ध्यवासिनी मन्दिरसहित आश्रम बनिरहेको छ।
विश्वमा शीतयुद्ध चलिरहेका बेला विसं २०४३ अघि घिमिरेले विन्ध्यवासिनीमा वैदिक विधिअनुसार ११ जना ब्राह्मणबाट एक महिनासम्म यज्ञ गराएका थिए। महायज्ञका लागि पशुपतिनाथबाट पोखरासम्म उनी पैदल यात्रा गरेका थिए। महायज्ञ सकेर घिमिरे पोखराबाट काठमाडौँ पनि पैदल यात्रा गर्दै आएका थिए। शीतयुद्धबाट विश्व शान्तिका लागि त्यो महायज्ञले योगदान गरेको विश्लेषण त्यसबेला गरिएको थियो। विसं २०४३ मा संयुक्त राष्ट्र संघले समेत शान्ति वर्षका रूपमा घोषणा गरेको थियो।
विश्व शान्ति अभियानमा उनको महत्वपूर्ण योगदान रहेको विन्ध्यवासिनी आध्यात्मिक संघका पूर्वाध्यक्ष केशवप्रसाद चौलागाइँले बताए। विसं २०४५ मा उनले पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको पदयात्रा गरेका थिए। विसं २०४८ मा मुक्तिनाथबाट कन्याकुमारीसम्मको पैदलयात्रा पनि उनले सम्पन्न गरेको संघले जनाएको छ।
कन्याकुमारीबाट हिमालयसम्मको क्षेत्रलाई आर्यावर्तका रूपमा वैदिक शास्त्रमा व्याख्या गरिएको छ। विसं २०६१ मा उनले देशमा जारी द्वन्द्व अन्त्यका लागि संघको कार्यालय सतुङ्गलमा गणपति महायज्ञसमेत आयोजना गरेका थिए। साधक घिमिरेले यज्ञ र पदयात्रामा भारतवर्षमै श्रेष्ठता कायम गरेको जनाइएको छ।
उनको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको श्रीमती, दुई छोरा र एक छोरी छन। बनारसमा साधनाका लागि बस्दा उनी नेपाली बाबाका नामले चिनिएका थिए। त्यसपछि उनी नेपाली बाबा उपनामले प्रख्यात भए।











