Kathmandu Press

रानीपोखरीबाट लेउ निकालिँदै

काठमाडौं, माघ ६ : काडमाडौं महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ निकाल्न थालेको छ। पुनःनिर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका...
रानीपोखरीबाट लेउ निकालिँदै

काठमाडौं, माघ ६ : काडमाडौं महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ निकाल्न थालेको छ। पुनःनिर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि सरसफाइ शुरु गरेको हो।

पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि कामपाले नगर प्रहरीको सहयोगमा सफा गर्न थालेको जनाएको छ। कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले दैनिक २० नगर प्रहरीको सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको बताए।

उनले भने, 'राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुनःनिर्माणपछि हस्तान्तरण भइसकेको छैन। यद्यपि पोखरी हाम्रै क्षेत्राधिकारभित्र पर्ने भएकाले लेउ हटाएका हौँ।' पोखरीमा पानीको मात्रा घट्दै गएकाले पनि थप समस्या भएकाले पानी भर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए।

पुनःनिर्माणपछि पोखरीमा तीन करोड २२ लाख लिटर पानी राखिएको थियो। अहिले करिब दुई करोड लिटरको हाराहारीमा मात्र पानी रहेको छ।  

कामपाले पोखरीको पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको भन्दै माछा हालेर पनि सफा र सुन्दर राख्न सकिने विकल्प देखाएको छ।

२०७२ को भूकम्पका कारण क्षति भएको रानीपोखरीको कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःनिर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको थियो । यस सम्पदा भूकम्प गएको पाँच  वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न गरेको हो।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा पोखरी बनाएका हुन्। पोखरीको निर्माण विसं १७२५ मा सम्पन्न भएको थियो। विसं १७२७ मा शिलापत्र राखिएको थियो।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन्। प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ।

उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ। (रासस)

प्रकाशित मिति: १०:१२ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्