‘भारतले नेपाललाई थोत्रा डिजेल गाडीको डम्पिङ साइट बनाउन सक्छ’
काठमाडौं, जेठ ५ : गत वर्ष झैं यस वर्ष पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा विद्युतीय परिवहनलाई प्राथमिकतामा राखेको छ।
नीति तथा कार्य....
काठमाडौं, जेठ ५ : गत वर्ष झैं यस वर्ष पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा विद्युतीय परिवहनलाई प्राथमिकतामा राखेको छ।
नीति तथा कार्यक्रममा भनिएको छ – सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमा विभिन्न तहका सरकार र निजी क्षेत्रको साझेदारीमा विद्युतीय बस सेवा सञ्चालन गरिनेछ।
विद्युतीय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन ठाउँठाउँमा चार्जिङ स्टेशनहरू बनाउने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
तर, सरकारी नीतिले निजी क्षेत्र कति उत्साहित छ? के काठमाडौंका सडकबाट साँच्चै डिजेल गाडीहरू विस्थापित हुन्छन्? यस विषयमा काठमाडौं प्रेसका भोजराज भण्डारीले नेपाल विद्युतीय परिवहन संघका अध्ययक्ष उमेशराज श्रेष्ठसँग कुराकानी गरेका छन्।
काठमाडौंका सडकमा डिजेल गाडीका सट्टा बिजुली गाडी चल्ने सम्भावना कति छ?
काठमाडौंमा मात्र होइन, नेपालको जुन सुकै कुनामा पनि विद्युत्तीय बस सञ्चालन गर्न सकिन्छ। तर, यस सम्वन्धी प्रष्ट सरकारी नीतिहरू छैनन्।
हुन त यसअघिको नीति तथा कार्यक्रममा पनि विद्युतीय परिवहनको योजना परेको थियो। त्यसै अनुरुप केही निजी कम्पनीहरूले बिजुली बस चलाउन चासो देखाए। कतिले लाखौँ रुपैयाँ लगानी गरेर पार्टपूर्जाहरु पनि ल्याए। तर, सरकारले चार्जिङ स्टेशन बनाउन र थप स्पष्ट नीति ल्याउन चासो देखाएन।
सम्भावना छ भन्नु हुन्छ, सरकारले पनि निकै महत्व दिएको छ, तर कार्यान्वयन किन हुँदैन?
किनकि, सरकारसँग स्पष्ट भिजन छैन। विज्ञ र निजी कम्पनीसँग सरकारले छलफल गरेको थाहा छैन। एकतर्फी रुपमा विद्युतीय बस सञ्चालन गर्ने भनेर हुन्छ? विद्युतीय बस अन्य बसको तुलनामा महङ्गो छ। सरकारले अलिकति अनुदान दिने हो भने बिजुली बस चल्ने सम्भावना छ। निजी कम्पनीलाई पनि सरकारले मान्यता दिनुपर्यो। यस्तो व्यवस्था चाइनामा पनि छ, जापानमा पनि छ। त्यहाँ सरकारले मान्यता दिन्छ र सम्भव भएको छ। विद्युतीय बसलाई एक प्रकारको मापदण्ड तोकेर के गर्न सकिन्छ भनेर नियम बनाउने हो भने धेरै राम्रो हुन्छ। तर, सरकार एकतर्फी रुपमा लागि रहेको छ। महत्वकाङ्क्षी योजना बनाउन लागेको लोकप्रियताले विद्युतिय बस सञ्चालनमा आउँदैन।
काठमाण्डौंका खाल्डाखुल्डी भएको बाटोमा विद्युतीय बसले डिजेल–पेट्रोलबाट चल्ने बससँग प्रतिस्पर्धा गर्न सक्ला?
सक्छ। किनभने, धूवाँ धुलो भएको गाडी चढ्न कसलाई रहर हुन्छ? केही ठाउँमा मर्मत गर्ने हो अहिलेको काठमाडौंका सडकमा पनि विद्युतीय बस राम्ररी चल्न सक्छ। पुराना धेरै धूवाँ फाल्ने बसहरुलाई हटाउनुपर्छ। यो एकैपटक सम्भव छैन। कम गर्दैै लानुपर्छ । अहिलेका विद्युतीय बसहरु प्रति घण्टा ५० किलोमिटरसम्म कुद्न सक्छन्। निजी कम्पनीहरू आउन तयार छन्, तर कानून छैन, आउने प्रक्रिया दिइएको छैन। अनि सम्भव कसरी हुन्छ? सञ्चालनमा आउनका लागि कानुनी पक्रिया दिनु पर्छ, सरकारले ऋण दिएर हुन्छ कि कसरी हुन्छ, ल्याउने वातावरण तय गर्नुपर्छ भन्ने मेरो मान्यता हो।
काठमाडौंमा कहिलेदेखि बिजुली बसहरू चल्लान्?
सरकारले चाहेर वा नचाहेर पनि विद्युतीय बस सञ्चालनमा आउँछ। कारण निजी कम्पनीले ल्याउँछ। भोल्भोले डिजेलबाट चल्ने बसहरू उत्पादन गर्न छोडिसक्यो। सुजुकीले पनि बन्द गरेको अवस्था छ। अब केही वर्षभित्र भारतले पनि डिजेल गाडीलाई विद्युतीय बसले विस्थापित गदैछ। भारतका सडकमा विद्युतीय बसहरू मात्रै चल्न थालेपछि त्यहाँ पहिलेदेखि चल्दै आएका पुराना र धुवाँ फाल्ने बसहरू नेपाल आउने सम्भावना छ। भारतले नेपाललाई थोत्रा डिजेल गाडीको डम्पिङ साइट बनाउन सक्छा। यस्तो अवस्था नआओस् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।
पछिल्लो समय प्रयोगमा आएका विद्युतीय रिक्सा, स्कुटरहरुको मुख्य समस्या ब्याट्रीमा देखिएको छ। यसकारण उपभोक्ताको ध्यान विद्युतीय सवारीमा नगएको हो कि?
त्यस्तो होइन। सुरुसुरुमा त्यस्तो समस्या देखिएको हो। तर अहिले त्यस्तो अवस्था छैन। पहिला लिथियम ब्याट्री प्रयोग हुन्थ्यो। अहिले लियुडयासिड ब्याट्री प्रयोगमा आउने गरेको छ। लियुडयासिडको ब्याट्रि ९–१० वर्षसम्म टिक्छ। लिथियम ब्याट्री भने २÷३ वर्षमै बिग्रिन्थ्यो।






