Kathmandu Press

ढलेका सीमास्तम्भले  नेपाल–भारत सीमामा झन् किचलो 

नेपाल–भारत सीमा विवाद चर्किरहेकै बेला नदीले सीमास्तम्भ ढाल्दा किचलो झन् बढ्न थालेको पाइएको छ ।
ढलेका सीमास्तम्भले  नेपाल–भारत सीमामा झन् किचलो 

काठमाडौं– नेपाल–भारत सीमा विवाद चर्किरहेकै बेला नदीले सीमास्तम्भ ढाल्दा किचलो झन् बढ्न थालेको पाइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ नंं ८१३ बाढीले ढलेको आधा दशक भयो । नेपाल–भारत मुख्य सीमा स्तम्भ नं ८१३ विगत छ वर्षदेखि महाकालीको बगरमा अलपत्र अवस्थामा रहँदा त्यसको पुनर्निर्माणमा सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।     
     
 हरेक साता सुरक्षाकर्मीले निगरानीमा राख्ने गरेको भए पनि त्यसको पुनर्निर्माणमा राज्यले ध्यान नदिँदा सीमा विवाद कायम रहेको स्थानीयवासी हंसबहादुर पालले बताए  । उनका अनुसार बाढीले बगाएको सीमास्तम्भ करिब सय मिटर वर नेपालतर्फ पुगेको छ ।
‘सीमास्तम्भ बालुवाले पुरिने अवस्थामा आइपुग्दा पनि वास्ता भएन,’ उनले भने, ‘सीमा पिल्लर ढलेका कारण भारतीय पक्षले किचलो गरिरहन्छन् ।’     
     
उनले स्थानीय प्रशासनको पहलमा भारतीयसँग समन्वय गरेर सीमा जस्तो संवेदनशील विषयको संरक्षण समयमै गर्नुपर्ने बताए । ‘महाकाली नदी किनारसम्म नेपालीको बसोबास हुँदा हामीलाई सीमा ढलेको चिन्ता छ,’ स्थानीय पदमसिंह कार्कीले भने, ‘छिमेकी मुलुकको हेपाहा प्रवृतिले त्रसित र सचेत पनि छौँ ।’ ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनारहुँदै भीमदत्त–११ भुजेलासम्म पाँच मुख्य सीमास्तम्भ नै छैनन् ।     
     
त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकालीमा मुख्य सीमा स्तम्भ नं ८११ लामो समयदेखि हराइरहेको छ । स्थानीयवासी र सशस्त्र प्रहरी बलको भनाइअनुसार उक्त सीमास्तम्भ महाकाली नदीको तटबन्ध भन्दा पर ९टनकपुर क्षेत्र० मा पर्छ । भारतीय पक्षले भने महाकाली नदीको तटबन्धभन्दा करिब ६० मिटर वर (नेपालतर्फ) दाबी गर्दा यहाँ धेरै पटक विवाद भएको छ ।     
     
 सोही क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने क्रममा विवाद भएको थियो । सशस्त्र प्रहरीका अनुसार यहाँको मुख्य सीमास्तम्भ ८१० (२) काठको बनाइएको छ भने भुजेलामा केही वर्षअघि मुख्य सीमास्तम्भ ८०५ महाकाली नदीमा आएको बाढीले बगाएको थियो ।     
     
त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रका केही स्थानमा सीमा विवाद भइरहन्छ ।     

यस्तै बेलौरी–१० सडकघाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई हिँडडुल गर्न रोक लगाएको थियो । शनिबार दुई पक्षबीचको सहमतिमा हिँडडुल गर्न दिए पनि विवाद भने बेलाबेलामा आइरहने गरेको छ । सीमा स्तम्भ नं ३५ आसपासको क्षेत्रमा एसएसबीले आवागमन गर्न नदिएपछि नेपाली र भारतीय दुवै तर्फका किसानले लगाएको उखु, तोरीसहितका अन्नबाली खेतमै सुक्न थालेपछि विवाद बढेको थियो ।     
     
 

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्