हिमपातले लिमी गाउँ पाँच महिनाका लागि बन्द
सिमकोट, माघ २ : हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ।केही दिनदेखि हिमपात भएको छ। लिमी प्रवेश...
सिमकोट, माघ २ : हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ।
केही दिनदेखि हिमपात भएको छ। लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा आवतजावत बन्द भएको जनाएको छ।
दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको वडाध्यक्ष पाल्जोर तामाङले बताए। केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको छ।
यी दुवै बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्नेछन्। पाँच महिनाका लागि बन्द भएपछि लिमी आउने क्रम रोकिएको वडाध्यक्ष तामाङले बताए।
दुवै नाकामा चारदेखि पाँच फिटसम्म हिउँ जम्ने भएकाले लिमी जाने बाटो बन्द भएका हुन्। नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुने भएपछि लिमी सञ्चार सम्पर्कविहीन भएको छ।
यद्यपि बेलाबेला आउजाउ भइरहने वल्डलिंकको इन्टरनेट सेवा भने अहिले सम्पर्कको माध्यम भएको हल्जी गाउँका स्थानीयवासीले बताएका छन्।
सडक बन्द भएपछि बिरामी तथा अत्यावश्यक काम पर्दा हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प छैन। हिमपातपछि बाटो बन्द हुने भएका कारण छ महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिने भए पनि यस वर्ष कोरोनाको कारणले त्यो काम पनि हुन नसकेको बताइएको छ।
मंसिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट ढुवानी अनुदानको सात क्विन्टल खाद्यान्न लिमी पुगेको थियो। लिमी उपत्यकाका साथै हिल्सा नाका पनि हिमपातपछि बन्द भएको छ। (रासस)











