प्रहरी र भारतीय युवाबीच रातभर झडप, ६५ राउन्ड हवाइ फायर
बाँके, जेठ ४ : चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि हिजो रातभर बाँकेको राप्तीपारि नरैनापुर क्षेत्रमा प्रहरी र भारतीय युवाबीच ....
बाँके, जेठ ४ : चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि हिजो रातभर बाँकेको राप्तीपारि नरैनापुर क्षेत्रमा प्रहरी र भारतीय युवाबीच झडप भएको छ।
पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै नैनापुर-५ भगवानपुरस्थित प्रहरी चौकी घेराउ गरेर ढंगामुडा गरिएको छ। स्थिति नियन्त्रण गर्न प्रहरीले ६५ राउन्ड हवाइ फायर गरेको छ।
नेपालगञ्जबाट नरैनापुर पुगेर लागुऔषधविरुद्ध परिचालित प्रहरीको विशेष टोलीले भारतीय नागरिक देवीविन विश्वकर्मालाई पक्राउ गरेको थियो। त्यसपछि स्थिति तनावपूर्ण बनेको हो।
प्रहरी चौकी घेराउसँगै तोडफोड र ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। ‘त्यहाँको अवस्था अहिले नियन्त्रणमा छ। थप घटना हुन नदिन अहिले पनि सुरक्षाकर्मी परिचालन गरेका छौ,’ उनले भने।
चरेशसहित पक्राउ परेका भारतीय नागरिक देवीविनलाई अबेर राति नै नेपालगञ्ज ल्याइसकिएको छ। देवीविन पक्राउ परेपछि सीमापारिबाट आएका भारतीय युवाले उनलाई नछोडेसम्म प्रहरीलाई जान नदिने भन्दै घेरा हालेका थिए। उनीहरूले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड गरेका छन्।
‘प्रहरीको गाडीमा आगजनीको प्रयाससहित र ढुङ्गामुढा गरेपछि थप प्रहरी बल पुगेर अवस्था नियन्त्रण गर्न खोजेको थियो,’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने, ‘तर प्रहरीको उपस्थिति कमजोर देखेपछि उत्तेजित झीडले क्रमशः आत्रोश फैलाउँदै चौकीमै घेराउ गर्न पुगे । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर नै गर्नुपर्यो।’
देवीविनलाई पक्राउ गरेपछि सीमा क्षेत्रबाट आएका भारतीय नागरिक आक्रमक भएर प्रहरीमाथि जाइलागेका थिए। उनीहरुलाई स्थानीय गाउँलेले साथ दिएपछि मुठभेडको अवस्था सिर्जना भएको थियो।
जिल्लाबाट बन्दोबस्तीसहित पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति १२ बजेतिर घटनास्थललाई पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए।
‘चार सयभन्दा बढी मानिसले चौकी घेराउ गरेका थिए। नेपालगञ्जबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन वटा टोली, आसपासका चौकीबाट समेत नरैनापुरमा मद्दतका लागि पुगेका थिए भने नेपालगञ्जमा थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको थियो। स्थिति नियन्त्रणमा आएपछि थप बल त्यसतर्फ जानुपरेन,’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने।
तस्करी गरेर नेपाल ल्याउँदै गएको मालसामानसहित गत साता सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका अपराधीलाई यसरी घेरा हाली भारतीयले छुटाएर लैजान भएका थिए।
‘राज्यको कमजोर उपस्थिति देखेर आज पनि तस्करलाई त्यसैगरी छुटाएर लैजाने प्रयास भयो,’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने, ‘हामीले त्यो प्रयासलाई असफल पारेका छौँ।’
आज पनि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन्।






