प्रधानमन्त्री ओलीले भने-सरकारको आलोचना गर्ने ठाउँ नपाएर कांग्रेसले झिनामसिना कुरा उठायो
काठमाडौं, जेठ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले आलोचना गर्ने कुनै ठाउँमा नदेखेर जनताको ध्यान अन्तै केन्द....
काठमाडौं, जेठ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले आलोचना गर्ने कुनै ठाउँमा नदेखेर जनताको ध्यान अन्तै केन्द्रित गर्न साना मसिना कुरा उठाएको आरोप लगाएका छन्।
२६ औँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा शुक्रबार मदननगर बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने,‘नीति तथा कार्यक्रमको कुनै विरोध गर्ने ठाउँ नभेटिएपछि जनताको ध्यान अन्तै मोडेका छन्। नचाहिने कुरामा केन्द्रित गर्ने काम भएको छ। नचाहिने असान्दर्भिक साना मसिना कुरा उठाएर हो कि क्या हो जस्तो पार्ने गरेका छन्।’
उनले ‘केही निहुँ पाऊँ कनिका बुकाऊँ’ भनेर सर्वोच्च स्थानमा रहेको राष्ट्रपतिले सम्बोधन गरेको ‘मेरो सरकार’ शब्दप्रति बखेडा झिकिएको आरोप लगाए। उनले राष्ट्रपतिले मेरो सरकार नभनेर कसको सरकारको प्रतिवेदन पढ्ने भनेर प्रश्न पनि गरे। ‘राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन पढ्ने संसारभरि नै प्रचलन छ। हामीजस्तै भारतमा पनि राष्ट्रपतिले सम्बोधन गर्ने चलन छ।’ उनले भने।
उनले कांग्रेसले लोकतन्त्रका नाममा गणतन्त्रामक प्रणाली, पद्धति र अभ्यासको विरोध गरेको बताए। प्रधानमन्त्री ओलीले सफलतापूर्वक सरकार देश र जनताका पक्षमा दृढदापूर्वक लागेर काम गरिरहेको दाबी गरे। उनले भने,‘कहीँकतै कमजोरी छ भने सच्चाएर अगाडि बढ्छौँ।’
फरक प्रसँगमा प्रधानमन्त्री ओलीले बालुवाटारको जग्गाको विषयमा छानविन भइरहेको बताए। उनले २०४७ सालदेखि बालुवाटारको जग्गा के भइरहेका छन् भनेर सरकारले छानविन गरिरहेको बताए।






