बिजुली प्रवाह व्यवस्थित बनाउन विद्युत् प्राधिकरणलाई प्रम कार्यालयको निर्देशन
उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो ।
प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ ।
प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि छलफल आयोजना गर्नुपरेको प्रधानमन्त्री कार्यालयको ठहर छ । छलफलमा समस्या समाधानका उपायको खोजी मात्र नगरी उपभोक्ताले उठाएका जायज माग एवम् आलोचनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइयो ।
अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा अन्य कारण के हो भन्ने तथ्य पत्ता लगाएर तत्काल समाधानको उपाय खोज्नुपर्ने साझा निष्कर्षसमेत निकालिएको छ ।











