खानै नसकिने गरी महँगियो गोलभेडा
काठमाडौं, जेठ ३ : गोलभेडा किन्न तरकारी पसल पुगेकी काठमाडौंको माछापोखरीकी रीता थापा मूल्य सोध्दा झस्किइन्। अघिल्लो ८० रुपैयाँ प्रतिकेजी गोलभेडा खरिद गर....
काठमाडौं, जेठ ३ : गोलभेडा किन्न तरकारी पसल पुगेकी काठमाडौंको माछापोखरीकी रीता थापा मूल्य सोध्दा झस्किइन्। अघिल्लो ८० रुपैयाँ प्रतिकेजी गोलभेडा खरिद गरेकी उनी एकाएक एक सय ३५ रुपैयाँ सुन्दा झस्किएकी हुन्।
केहीबेर तरकारी पसलेसँग चर्काचर्की गरेकी उनी त्यही मूल्यमा गोलभेडा खरिद गरेर लगिन्। ‘खानै नसकिने भो गोलभेडा। साह्रै महङ्गो भयो,’ उनले गुनासो गरिन्, ‘अब त गोलभेडा खाने होइन, हेर्ने मात्रै दिन आए।’
केही दिनयता गोलभेडाको मूल्य अकाशिएको छ। एक सातामै झण्डै दोब्बरले मूल्य वृद्धि भएको छ।
गत वर्षको तुलनामा पनि झण्डै दोब्बरकै हाराहारीमा छ, गोलभेडाको मूल्य। गत वर्षको जेठ ३ गते गोलभेडाको मूल्य ७० रुपैयाँ प्रतिकेजी थियो। आज भने एक सय ३५ रुपैयाँ प्रतिकेजी पुगेको छ।
व्यवसायीहरू गोलभेडाको मूल्य अझै बढ्ने बताउँछन्। ‘स्थानीय उत्पादन कम भएकाले गोलभेडाको भाउ बढेको हो। यो मूल्य अझै केही समय यथावत रहन सक्छ,’ कालिमाटी तरकारी बजार समितिका प्रवक्ता विनय श्रेष्ठले भने।
अहिले देशका विभिन्न भागसँगै भारतबाट तरकारी आयत हुन्छ। कालिमाटी तरकारी बजारमा दैनिक एक सय २५ टन गोलभेडा आउने गरेको श्रेष्ठले बताए। जसमध्ये नेपालको उत्पादन करिब पाँच टन मात्रै रहेको उनको भनाइ छ। भारतीय गोलभेडामा निर्भर रहँदा मूल्य बढेको उनले बताए।
गोलभेडा मात्रै होइन, अन्य तरकारीको भाउ पनि बढेको छ। केही दिनअघि ८० रुपैयाँमा मोटरकोसा किनेकी गंगबुकी विमला न्यौपानेले आज एक सय ३० रुपैयाँ हालिन्। ‘केही दिनमै यो त किन्नै नसकिने भएछ,’ उनले गुनासो गरिन्।
अन्य तरकारीको मूल्य पनि बढेको छ। काउली, बन्दा, कागति, मुला, काक्रोलगायतको मूल्य पनि अत्यधिक बढेको छ। कागती प्रतिकेजी एक सय ९० रुपैयाँ पुगेको छ। एक साता अघि प्रतिकेजी एक सय २० रुपैयाँ रहेको थियो।
त्यस्तै, बन्दा पनि प्रतिकेजी ७० रुपैयाँ पुगेको छ। जबकी गत वर्षको आजकै दिन प्रतिकेजी ३५ रुपैयाँ रहेको थियो।
स्थानीय उत्पादन कम भएकाले तरकारीको मूल्य बढेको कालिमाटी तकारी बजार समितिले जनाएको छ। समितिका प्रवक्ता श्रेष्ठले भने, ‘यो विवाह, ब्रतबन्धनको सिजन पनि भयो, त्यसले पनि मूल्य बढ्यो।’
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले खासै चासो देखाएको छैन। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिलम्सिनाले सरकारले मूल्य नियन्त्रणका लागि कदम नचाल्दा तरकारी लगायत खाद्यन्नको भाउ अनियन्त्रित भएको बताए। ‘सबै कुराको भाउँ बढेको छ, तर सरकारी निकाय मुकदर्शक बनेको छ,’ उनले भने।
हेर्नुस् कुन-कुन तरकारीको मूल्य बढ्यो













-(7)-1765197040.jpg)