राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनसँग जाेड्न स्थानीयको माग
राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुकको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ ।
राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुकको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोरदोहोर गरेका बाटामा गत वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।
ककनीकी रेनुका लामा रुम्बा भन्छिन्, ‘नेपालको गौरवपूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’
एकीकरण मार्गमा सेनाले पदयात्रा सञ्चालन गरेकामा खुसी व्यक्त गर्दै उनले भनिन्, ‘विगतमा सुनेको विषय अहिले सेनाका कारण प्रत्यक्ष देख्न पाइयो, पृथ्वीनारायणले नेपाललाई एकीकरण गर्नुुभएको हो, उहाँ एकीकरणका नायक हुनुहुन्छ, हामीले इतिहासलाई संरक्षण गर्नुपर्छ । ऐतिहासिक चिज वस्तुलाई जोगाउनुपर्छ । शालिक तोडफोड गर्नु गल्ती हो ।’
नेपाली सेनाको जबरजङ्ग गणले शमशेर दल गणका गणपति प्रमुख सेनानी उमेश श्रेष्ठलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झन्डा र एकीकरण ज्योति हस्तान्तरण गरेको थियो । सो अवसरमा दुवै गणका टोलीले सो अवसरमा बाजागाजासहित नाचगान गरी गरेको हर्ष बढाइँमा स्थानीयले साथ दिएका थिए ।
सैनिक पदयात्रा टोलीलाई काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयवासीले अक्षता, माला र खादालगाएर स्वागत अभिवादन गरेका थिए । सो अवसरमा त्यहाँका महिलाको नेतृत्वमा रहेको लोकसंस्कृति नौमती बाजा समूहले हर्षोेल्लासका साथ टोलीलाई स्वागत अभिवादन महिला गर्नाका साथै टोलीसँग निकै खुसियालीका साथ लोकनृत्य प्रस्तुत गरेको थियो ।
२९९औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मङ्गलबारदेखि सुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमानढोका दरबार आइ पुगेको छ । सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको उक्त टोली गोरखा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा स्थानीयवासीसँग लोकनृत्य, छलफल र अन्तरक्रिया गर्दै काठमाडौँ उपत्यका प्रवेश गरेको हो ।
हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गर्ने र त्यसपछि त्यहाँ तैनाथ शार्दुलजंङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ ।











