तर्क वितर्क नगरी चुनावमा लाग्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुभन्दा चुनावको तयारीमा जुट्न सम्पूर्ण राजनीतिक दललाई आह्वान गरेका छन् ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुभन्दा चुनावको तयारीमा जुट्न सम्पूर्ण राजनीतिक दललाई आह्वान गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरुको जिज्ञासाको जवाफ दिँदै उनले प्रतिनिधिसभा विघटनको सिफारिस गरिरहँदासम्म आफू बहुमत प्राप्त दलको संसदीय दलमा सर्वसम्मत नेताका हैसियत रहेकाले सो कदमप्रति अलमल र भ्रममा नपर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै पार्टीको बहुमतको सरकार भएकाले संविधानको धारा ७६ को उपधारा १ अनुरुप नै आफ्नो नेतृत्वमा सरकार गठन भएको हो, त्यसमा कसैलाई अलमल नहोस् ।’ सरकारको सिफारिसमा कार्यसम्पादन गर्ने गरी सक्रिय नभई आलङ्कारिक राष्ट्रपतिको संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘राष्ट्रपतिको गरिमाप्रति पुरातन सोच भएका र मुलुकलाई पछाडि फर्काउन चाहने तत्वले सङ्कीर्ण दलीय स्वार्थबाट प्रेरित भई हिलो छयाप्न खोजेका छन् ।’
प्रधानमन्त्री ओलीसँग सदस्यहरु जीतेन्द्रनारायण देव, प्रमिला कुमारी, रमेशजङ्ग रायमाझी, प्रकाश पन्थ र अनिता देवकोटाले राष्ट्रिय सभाको आजबाट गरिन लागेको अधिवेशन अन्त्य, प्रतिनिधिसभा विघटन र निर्वाचनमा जाने कदमप्रति असहमति जनाउँदै के कति कारणबाट यस्ता निर्णण गरियो भनी प्रश्न राखेका थिए ।











