Kathmandu Press

मदन-आश्रित स्मृति दिवसमा एमालेभन्दा माओवादी अगाडि

काठमाडौं, जेठ ३ : मदन–आश्रित दिवश मनाउन शुक्रबार बिहान ८ बजे मदननगर, बल्खु पुग्नेमा साविकका एमालेभन्दा माओवादी केन्द्रका नेताकार्यकर्ता धेरै सक्....

मदन-आश्रित स्मृति दिवसमा एमालेभन्दा माओवादी अगाडि
माधव ढुङ्गेल

काठमाडौं, जेठ ३ : मदन–आश्रित दिवश मनाउन शुक्रबार बिहान ८ बजे मदननगर, बल्खु पुग्नेमा साविकका एमालेभन्दा माओवादी केन्द्रका नेताकार्यकर्ता धेरै सक्रिय देखिएका छन् । एमाले र माओवादी पार्टीबीच एकीकरणपछिको पहिलो मदन–आश्रित स्मृति दिवस मनाउन बल्खु पनि केपी शर्मा ओलीभन्दा पुष्पकमल दाहाल नै अगाडि पुगेका थिए।

तत्कालीन एमाले महासचिव मदन भण्डारीकी धर्मपत्नी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने दिवंगत पतिको शालिकमा पुष्पगुच्छा अर्पण गर्न उपस्थित भइनन् । यसअघि भने यस्ता समारोहमा राष्ट्रपति जाने गर्थिन् ।

परिवारको तर्फबाट भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारी बल्खुमा पुगेकी थिइन् । अर्का नेता जीवराज अश्रितको परिवारका तर्फबाट भने आश्रितकी धर्मपत्नी माया ज्ञवाली छोरीसहित उपस्थित थिइन् । दुवै परिवारका सदस्य मञ्चको दोस्रो लहरमा बसाइएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले श्रद्धाञ्जलि अर्पण गरे । त्यसपछि आश्रितपत्नी ज्ञवाली, उनकी छोरी र त्यसपछि भण्डारीकी छोरी उषाकिरणले श्रद्धाञ्जलि अर्पण गरेका थिए।

श्रद्धाञ्जलि कार्यक्रममा जनसंगठनको एकतासहितको नेतृत्व घोषणा गरिएको थियो । त्यसपछि अध्यक्षद्वयले सम्बोधन गरिरहँदा जनसंगठनका संयोजकहरूलाई खादा ओढाउने र बधाइ दिने क्रम चलिरहेको थियो।

बहस : जबजमै बस्ने कि अघि बढ्ने?

समारोहमा मदन भण्डारीले प्रतिपादन गरेको विचार ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई नै मार्गदर्शक सिद्धान्त मान्ने कि छाड्ने भन्नेबारेमा दुई अध्यक्षको अलग–अलग धारणा त्यहाँ सार्वजनिक भएको थियो।

पहिलो वक्ताका रूपमा बोलेका  प्रधानमन्त्री एव‌‌ नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतापछि पनि जननेता मदन भण्डारीले अगाडि सारेको जबजलाई छाड्न नमिल्ने प्रष्ट रूपमा बताए । उनले भने, ‘यसको मतलब  हिजो मदन भण्डारीले हिजो भन्नुभएको थियो, त्यहीमात्र अन्तिम भने हैन।’

एक वर्षअघि पार्टी एकताको घोषणा गरे पनि अझै यसले पूर्णता नपाइसकेको अवस्थामा नेकपाभित्र सैद्धान्तिक/वैचारिक बहसले प्रवेश पाएको सहजै अनुमान  गर्न सकिन्छ । अबको एक वर्षभित्र महाधिवेशन गर्ने बताएको एमालेको महाधिवेशन त्यति छिटै हुने लक्षण त छैन तर पनि अलग खेमाका शीर्षनेता वक्ता भएको समारोहमा यस्तो वैचारिक बहसले प्रवेश पाउन थालेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अब मदन भण्डारीको विचार मात्र भनेर नबसी  त्योभन्दा अघि बढ्नुपर्ने धारणा राखेका थिए।

उनीपछि बोलेका ओलीले अर्का अध्यक्ष ओलीले भण्डारीको विचार छाड्न नमिल्ने धारणा राखेका थिए ।श्रद्धाञ्जलि समारोहमा ओलीले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सूत्रको रूपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहीमात्र अन्तिम होइन । हामी उहाँको विचारलाई मार्गदर्शक सिद्धान्तका रूपमा समायानुकूल सिर्जनात्मक ढंगले प्रयोग गर्छौं । जननेता मदन भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्नै मिल्दैन र छाड्दैन।’

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, जेठ ३, २०७६