राष्ट्रिय सभाको सातौं अधिवेशन अन्त्य
राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।
काठमाडौं– राष्ट्रिय सभाको यही पुस १७ गतेदेखि सुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए । सोहीअनुसार उनले राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे ।
चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेस भएको, नवनियुक्त राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेसी आयोगको प्रतिवेदन पेस भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेस भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
यसअघि बैठकमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य दिएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ सभासमक्ष पेस गरेका थिए ।






