Kathmandu Press

कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरको ५० लाख

ललितपुर, पुस २६ : ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख हस्तान्तरण गरेको छ।महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई कात्तिक...
कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरको ५० लाख

ललितपुर, पुस २६ : ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न ५० लाखको चेक हस्तान्तरण गरेका हुन्। गतवर्ष आफूले अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्ने वचन दिएसँगै यसवर्ष भने ५० लाख दिन सफल भएको बताए। उनले भने, 'विष्णुपुराणमा आधारित यस नाचले जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिने भएकाले सदियौँसम्म जोगाइराख्नुपर्नेछ।'

यसैगरी ललितपुर २१ खोकनामा नाचिने ‘रुद्रायणी नाच’ र ललितपुर २९ हरिसिद्धिमा मनाइने हरिसिद्धि भवानीको जात्रा एवं नाच’ संरक्षणका लागि रकम सहयोग गर्ने योजना बनाइरहेको उनले बताए।

समितिका अध्यक्ष चित्रकारले नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटि शान्ति र सुव्यवस्था कायम रहने विश्वास रहँदा कोष स्थापना गर्न सहयोग पुगेको बताए। अझै अन्य दाताबाट पनि रकम सहयोग हुने अपेक्षा रहेको उनको भनाइ थियो।

हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’मा नाच मञ्चन गरिँदै आएको छ। नाच ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने एक माध्यम बनिरहेको छ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो। परापूर्वकालदेखि चलेको यो नृत्य यसपटक कोरोना कहरका कारण इच्छुक व्यक्तिले प्रत्यक्ष हेर्न नपाए पनि घर–घरबाटै टेलिभिजनमार्फत आनन्द लिएका थिए।

विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए। यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव रहेको दाबी गरिन्छ।

कात्तिक नाच प्रथमपटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन्। मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकारहरुको भनाइ छ।

यसैगरी श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका यस नाचमा १७ विधाको कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो।

यी विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ, कौलाखिचा, माकः सि मियेगु, खुशी छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात् छ्योँध्वग्गि,  सतिवनेगु अर्थात् महामुर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेका समितिले जनाएको छ। (रासस)

प्रकाशित मिति: १०:५१ बजे, आइतबार, पुस २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्