‘नेकपा मोर्चाजत्ति पनि क्रियाशील भएन’
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीसँग अन्तर्वार्ता
एमाले र माओवादी एकीकरणपछि नेकपा घोषणा भएको नौ महिना लाग्यो । पार्टी एकता घोषणाप....
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीसँग अन्तर्वार्ता
एमाले र माओवादी एकीकरणपछि नेकपा घोषणा भएको नौ महिना लाग्यो । पार्टी एकता घोषणापछि कत्तिको उर्जा थपिएको छ ?
पार्टी एकता निश्चय नै ऐतिहासिक महत्वपूर्ण घटना थियो । त्यसैले स्वाभाविक रूपमा तरङ्ग ल्यायो । सामान्य विज्ञानको नियम हो– दुई शक्तिबीचको एकताले थप शक्ति आर्जन हुन्छ । समाज विज्ञानमा चाहिँ कहिलेकाहीँ फरक पनि हुनसक्छ ।
पार्टी एकता र सरकार दुइटै सँगसँगैको कुराले गर्दा मान्छेहरूलाई अलमल पनि बनाएको छ । पार्टी एकताबारे कोसँग कुरा गर्ने, सरकारको कुरा कोसँग गर्ने ? मुख्य उत्तरदायित्व कसले लिने ? भन्ने एउटा खालको अलमल छ ।
यो पनि पढ्नुस् : रूपमा पार्टी, सारमा मोर्चा
दोस्रो, पार्टीको नेता मात्र हुँदाभन्दा प्रधानमन्त्रीसमेत हुँदाको अध्यक्षसँग नेताकार्यकर्ताको पहुँच कम हुन्छ । त्यसैले हामीले रिपोर्ट गर्न जाने ठाउँ पनि साँघुरा भए ।
केही मान्छेले त सरकारमा बसेर काम गरिरहेका छन् । केही थान मान्छे त सांसद् छन् । तर, ठूलो सङ्ख्या राजकीय जिम्मेवारीभन्दा बाहिर छ । उहाँहरूले के काम गर्ने भन्ने कुराको टुंगो छैन । उहाँहरूले सिर्जनात्मक काम के गर्नुहुन्छ ? कसैले टोलको सरसफाइ अभियान, कसैले हाइकिङ, ट्रेकिङ, पर्यटन प्रबद्र्धन, कृषि प्रबद्र्धन, मेलाहरूको आयोजना गर्ने संगठित पार्टीको शक्ति छ । पार्टीको जिम्मेवारी नभइसकेपछि पार्टीका मान्छे चाहिँ सक्रिय छन् तर भूमिका फरक खालको छ । समाजमा आफ्नो हैसियत जीवित राख्न यस्ता काम गरिरहेको देख्छु ।
मजस्तो कार्यकर्ताको लागि त संक्रमणकाल भयो । पार्टी एकतापछि कसरी काम हुन्थ्यो भन्ने अनुभव गर्नै पाइएन । पहिलोपल्ट समानुपातिकतर्फबाट सांसद् भएको, मैले गर्ने काम यस्तै हो कि भन्दै समय बितेको छ ।
लामो समय अलग–अलग पार्टीमा काम गर्नुभयो तर तपाईंजस्तै माओवादीमा काम गरेर आएका साथीको क्षमता कस्तो लाग्दैछ ?
सँगै केही कामै गर्न पाएको छैन । सँगै काम गर्ने त धैरै टाढाको कुरा हो, एउटै मिटिङमा बसेर एउटै ‘इस्यु’ लाई एकै तरिकाले वा भिन्न तरिकाले हेर्छौँ या बुझ्छौँ भन्ने कुरा पनि अनुभूत गर्न पाइएन ।
केन्द्रीय कमिटीको बैठक हुन्थ्यो भने त्यो पनि वस्तु वा घटनालाई हामी कसरी हेर्छौँ ? कस्तो प्रस्तुति दिन्छौँ, कसरी सोच्छौँ भन्ने कुरा पनि हुन्थ्यो होला । त्यो केही पनि भएन । एकताबाट शक्ति आर्जन भएन भनेर भन्ने कुरा निराशावादी हुन्छ होला तर समाज विज्ञानमा दुइटा तत्व वा वस्तु मिल्दैमा शक्ति आर्जन हुन्छ भन्ने निक्र्यौल पनि गर्न सकिन्न ।
यो स्थिति अझै लम्बियो भने ?
भोलि कत्रो पार्टी होला भन्ने कुरा कस्तो विचार राख्छौँ भन्नेमा भर पर्छ । त्यो विचारअन्तर्गत कस्तो सङ्गठनात्मक संरचना बनाउँछौँ, त्यो अझ महत्वपूर्ण कुरा हो । त्यो संरचनालाई कसरी चलाउँछौँ भन्ने कुरा पनि हो । हामीले पार्टी कस्तो विचार, कस्तो संगठन संरचना बनाउँछौँ र कसरी चलाउँछौँ भन्ने आधारमा पार्टी कस्तो होला, कति शक्तिशाली होला वा नहोला भन्ने कुराको आँकलन गर्न सकिन्छ ।
०५४ सालमा पार्र्टी फुटेपछि पूर्ववर्ती एमालेमा धेरै काम दुनियाँले देख्दा संस्थागत भए पनि कयौँ काम संस्थागत नभई पनि चले तर पनि यो संस्थागत पार्टी नै थियो । त्योबाहेकका धेरै पार्टी संस्थागत भएनन् ।
आज हामी पार्टीलाई कुनै पनि हिसाबले संस्थागत सञ्चालन गरेका छैनौँ । दुईतिहाई बहुमतको सरकार छ । यो सरकालाई कसरी हाँक्ने भन्ने कुरा पार्टी नीतिले नै निर्देशित गर्नुपर्छ । यो सरकार कसरी काम गर्छ भन्ने पार्टीको विधिले नै निर्धारण गर्ने कुरा हो ।
किन पार्टीका सबै नेता–कार्यकर्ताले सरकारको स्वामित्वसमेत नलिएको ?
जब सरकारलाई पार्टीले निर्देशित गथ्र्यो, हरेक सदस्यले यसको स्वामित्व लिन्थे । कुन मान्छेलाई कहाँ जिम्मेवारी दिने या नदिने भन्ने कुरो जब पार्टी कमिटीमा छलफल हुन्थ्यो र पार्टीले संस्थागत निर्णय गथ्र्यो, त्यसबेला पार्टीका प्रत्येक मान्छेले त्यसको स्वामित्व लिन्थे । सरकारको बचाउ गर्थे । राजदूतदेखि लिएर सरकारका नियुक्तिको कुरा छ, म पार्टीको बचाउ नै गरौँला । तर, मेरो कुरा राख्ने ठाउँ कहीँ छैन भने म बचाउका लागि कसरीको जिम्मेवार हुन्छु ?
कत्ति स्वामित्व दिइयो वा त्यो प्रक्रियामा छ कि छैन ? यसले गर्दा स्वामित्व लिन नसकिने र अलपत्र परिने रहेछ । अलपत्र पर्ने कुराले पार्टी कस्तो बन्छ भन्ने कुराले पार्टी डेढ किलोमिटरवरिपरि सीमित रहन्छ । सिङ्गो देशको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा फैलने पार्टी हो वा डेढ किलोमिटरको घेरामा सीमित रहने पार्टी बनाउने हो भन्ने कुरा निर्णय कसरी गर्छौँ भन्ने कुराले निरुपण गर्छ । मत कति आयो भन्ने कुरा अस्थायी हुन् । हरेक निर्वाचनमा जनमत तलमाथि हुन्छ ।
सरकारको बचाउ र खबरदारी पार्टीले गरेको छैन ?
पार्टीलाई जब हामीले क्रियाशील बनाउँदैनौँ, सरकारका लोकप्रिय काम जनतासम्म कसले पुर्याउँछ ? त्यो त ‘पार्टी क्याडर’ ले गर्ने हो नि । सरकारले गरेका राम्रा काम पनि जनतासम्म लगेकै छैन । खराब काम गरेको भए पनि त्यसलाई खबरदारी गर्ने काम पार्टी कमिटीको हो । स्थायी कमिटी, पोलिटव्युरो वा केन्द्रीय कमिटीमा छलफल हुन्थ्यो । नबुझिने कुरा गरेर सरकारले भयंकर काम गर्दैछ भन्ने सन्देश दिएको त कति जनाले बुझ्लान् र ? बुझिने, देखिने, अनुभूत गरिने हुनुपर्छ सरकार । सरकार जनतासँग नजिकको हुनुपर्यो।
तीन तहको चुनावपछि अहिले गाउँगाउँमा छन् सरकार । सरकारलाई पार्टीले कहाँनिर निर्देशित गरेको छ त ? मेरो मेयरले कुन कमिटीको निर्देशनमा काम गर्छ ? वडाध्यक्ष त साँच्चै गाउँघरको सरकार हो । वडाध्यक्षले कुन पार्टी कमिटीले गरेका निर्णय कार्यान्वयन गर्ने ? मेरो पार्टीले अरु पार्टीभन्दा भिन्न र राम्रो विचार, सिद्धान्त र कार्यक्रम बोकेको छ, त्यो कार्यक्रम म सरकारमा हुँदा लागू गर्छु भनेर घोषित रूपमा आएको हो । यो अवस्था अहिले छैन । दलीय व्यवस्थामा पार्टीका निर्णय कार्यान्वयन गर्ने हैन भनेर कसले भन्छ ?
हिजोको एमाले वा माओवादी पार्टी नै मोर्चाजस्तो थियो । यी दुवै मिलेर बनेपछि ‘रूपमा पार्टी, सारमा चाहिँ मोर्चा’ नै हो नेकपा ?
मोर्चा पनि निश्चित उद्देश्य पूरा गर्न बनाइन्छ । यो त निश्चित काम पनि के गर्ने भन्ने पनि छैन । मोर्चा चलाउन पनि नेतृत्व हुन्छ, त्यसको उद्देश्य हुन्छन् । कार्यक्रम हुन्छ, कहिलेसम्म गर्ने भन्ने हुन्छ र त्यसको मूल्याङ्कन गरिन्छ । हामीले सात दलको मोर्चाको ‘टाइमलाइन’ बनाएर आन्दोलन गरेका हैनौँ र ? मोर्चा कति प्रभावकारी भयो भन्ने हेर्न हामीले कत्तिको प्रभावकारी मुद्दा अघि सारेका छौँ भन्ने हुन्छ । यो मोर्चाजत्ति पनि क्रियाशील छैन ।
नेपालमा कम्युनिष्ट पार्टीको बलियो सरकार छ तर संसार प्रतिकूल छ । नेपाली जनताले पनि पत्याउन छाडे भने त गाह्रो पर्ला नि ?
यो सबैभन्दा गम्भीर विषय हो । हामी नै ठीक भनेर कुनै बेला नेपोलियन बोनापार्टले पनि भनेका थिए । ‘म नै राज्य हुँ’ भनेजस्तो कुरा हुन लाग्यो भने त यो सत्यानाशको बाटो हो । आज सरकार नै नेकपा, नेकपा नै सरकार भनेजस्तो देखिन्छ । सरकारमा जेजति छ, त्यो नै नेकपा हो । जति नेकपा हो, त्यो सरकारमा छ भनेजस्तो देखिन्छ । सरकारमा त पार्टीको सानो अंशमात्र छ । आठ लाख सदस्य भएको पार्टीमा जम्मा २५ जना त हो मन्त्रिमण्डलमा भएको । यो त सानो बिन्दु मात्र हो ।






