जलवायु परिवर्तनले बंगाल बाघ लोप हुने
जलवायु परिवर्तन र समुद्र सतहको वृद्धिले अन्ततः विश्वको अन्तिम र बाघको सबैभन्दा ठूलो गढ नाश हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
प्राकृतिक बासस्थानमा प....
जलवायु परिवर्तन र समुद्र सतहको वृद्धिले अन्ततः विश्वको अन्तिम र बाघको सबैभन्दा ठूलो गढ नाश हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
प्राकृतिक बासस्थानमा पुगेको खतराका कारण जमिनमा बस्ने करिब पाँच लाख प्रजातिको अस्तित्व संकटमा परेको छ। तीमध्ये बाघ पनि भएकोे संयुक्त राष्ट्र संघको प्रतिवेदनमा उल्लेख छ।
सुन्दरवन बंगलादेश र भारतको चार हजार वर्ग मिल दलदले भूमिमा फैलिएको छ। विश्वको सबैभन्दा ठूलो म्यान्ग्रोभ जंगल पनि यही छ। यहाँको समृद्ध पर्यावरणले लोपोन्मुख बंगाल बाघ लगायत पशुका सयौं प्रजातिलाई भरणपोषण गरेको छ।
तर जमिनको ७० प्रतिशत भाग मात्रै समुद्र सतहदेखि केही फिटमाथि छ। साइन्स अफ द टोटल इन्भाइरोन्मेन्ट जर्नलमा अष्ट्रेलिया र बंगलादेशका अनुसन्धाताहरूले प्रकाशन गरेको एक प्रतिवेदन अनुसार यो क्षेत्रमा गम्भिर परिवर्तन हुँदैछ। तापक्रम वृद्धिबाट हुने परिवर्तन बाँकी रहेका केही सय बंगाल बाघ नाश गर्न पर्याप्त हुनेछ।
‘सन् २०७० सम्म बंगलादेशको सुन्दरवनमा बाघका लागि उपयुक्त हुने कुनै बासस्थान बाँकी हुने छैन,’ दश जना अनुसन्धाताले गरेको अध्ययनको निष्कर्ष छ।
सुन्दरवनको वन्यजीवन खतरामा रहेको भन्दै प्रकाशित अन्य अध्ययनलाई पनि यसले बल दिएको छ। सन् २०१० मा वल्र्ड वाइड फन्डले समुद्र सतह ११ इन्चले बढे केही दशकभित्रै सुन्दरवनका ९६ प्रतिशत बाघ घट्ने प्रक्षेपण गरेको थियो। जलवायु परिवर्तनले विश्वका लोपोन्मुख स्तनधारीको करिब आधा संख्यालाई सोचेभन्दा धेरै क्षति पु¥याइसकेको पछिल्लो अध्ययनले देखाएको छ।
सुन्दरवन सम्बन्धी नयाँ प्रतिवेदनका मुख्य लेखक सरिफ ए. मुकुल र उनका सहकर्मीहरूले समुद्रको सतह बढ्दा बाघलाई पुग्ने क्षतिबारे अध्ययन गरेका थिए। जस अनुसार सन् २०५० र २०७० मा बासस्थानमा पुग्ने प्रक्षेपित क्षतिको ५.४ देखि ११.३ प्रतिशत हुनेछ।
जलवायु परिवर्तन सम्बन्धी अन्य कारण पनि सुन्दरवनका बाघका लागि अझ हानिकारक भएको अनुसन्धाताहरूले पत्ता लगाएका छन्। जंगली बाघको सबैभन्दा ठूलो संख्या यही सुन्दरवनमा पाइन्छ। १९ औं शताब्दीको प्रारम्भदेखि वन्यजन्तुका बासस्थानको नाश, शिकार र तिनका अंगको गैरकानूनी व्यापारले झण्डै एक लाखको हाराहारीमा रहेको बाघको संख्या चार हजारभन्दा थोरै बनायो।
बंगलादेशको सुन्दरवनमा मौसममा हुने चरम परिवर्तन र बदलिंदो वनस्पतीले उनीहरूको संख्या थप घटाउने अध्ययनले पत्ता लगाएको छ। सुन्दरवनमा बाढी आएसँगै नयाँ जमिनको खोजीमा बाघ निस्कने सम्भावना बढ्ने भएकाले मानिस र बाघको मुठभुेड अझ बढ्नसक्छ।
‘त्यो क्षेत्रमा चक्रवात वा कुनै महामारी फैलिए अथवा खानाको अभाव भए परिस्थिति अझ खराब हुनसक्छ,’डा. मुकुलले भने। उनी इन्डिपेन्डिेन्ट युनिभर्सिटी, बंगलादेशमा वातावरण व्यवस्थापनका सहायक प्राध्यापक हुन्। अक्टोबरमा संयुक्त राष्ट्र संघले एउटा अभूतपूर्व प्रतिवेदन जारी गर्यो। हरितगृह उत्सर्जन हालकै दरमा निरन्तर भए वायुमण्डल सन् २०४० सम्म प्रागऔद्योगिक स्तरभन्दा धेरै २.७ डिग्रीसम्म तातिनसक्ने प्रतिवेदनमा उल्लेख छ।
यसले ‘फुड चेन’, ‘कोरल रिफ’ र बाढीको जोखिम भएका क्षेत्रमा उल्लेखनीय प्रभाव पार्नेछ। बंगलादेशजस्तो गरिब र बढी घनत्व भएको देशमा विषम परिस्थिति सिर्जना हुनसक्छ। यहाँ १६ करोड मानिस बस्ने गर्दछन्। ज्वारभाटाको दशकौंको अभिलेखको विश्लेषण अनुसार बंगलादेशमा उच्च ज्वारभाटा विश्वको औसतभन्दा छिटो उठिरहेको देखिन्छ। यो ‘गंगा डेल्टा’मा रहेको नदी र खोलाहरूको जटिल सञ्जालमा पर्दछ।
भारतको जादवपुर युनिभर्सिटीका ओसनोग्राफर सुगत हज्राको अनुसन्धानले सुन्दरवनका केही जमिन नाशिने भए पनि बाघमा खासै प्रभाव नपर्ने देखाउँछ। समुद्र सतहभन्दा तलका क्षेत्र र त्यहाँ बस्ने बाघको सुरक्षाका लागि केही कामहरू भएको जाहिर उद्दिन अहमदले बताए। उनी बंगलादेशको वन विभागका अधिकारी हुन्।
नुनिलो पानीमा बाँच्ने अन्नबाली ल्याइँदैछ। सरकारले आँधी छेक्ने भित्ताहरू निर्माण गरिरहेको छ। ‘सेडिमेन्ट रिडिस्ट्रिब्यूसन’ ले पनि केही टापुको प्राकृतिक उचाइ बढाएको उनले बताए। जलवायु परिवर्तन वा उद्योगको विकास जेले भए पनि बाघको बासस्थान घट्ने र संरक्षणका असल विकल्पहरू पाउन कठिन हुने प्रेरणा सिंह बिन्द्राले बताइन्। उनले ‘द भ्यानिसिङ : इन्डियाज वाइल्डलाइफ क्राइसिस’ नामक पुस्तक लेखेकी छिन्।
उदाहरणका लागि बंगाल बाघलाई अर्कै आरक्षमा सार्नु नै ‘उपयुक्त समाधान’ नहुने उनी बताउँछिन्। ‘यी बाघलाई कहाँ राख्ने? यो भिडभाडयुक्त ग्रहमा बाधाव्यवधानरहित उपयुक्त बासस्थान कहाँ छ?’ उनले भनिन्।