भालुको आक्रमणमा बाजे-नातिनी गम्भीर घाइते
डाेटी, पुस २४ : डोटीको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब...
डाेटी, पुस २४ : डोटीको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी ८४ वर्षीय रामबहादुर खड्का र उनकी पाँच वर्षीया नातिनी सरस्वती खड्का घाइते भएका हुन्।
गएसाँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकै उनीहरुलाई भालुले आक्रमण गरेको हो। आक्रमणमा दुवै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।
भालुको आक्रमणबाट गम्भीर घाइते उनीहरुको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ। उनीहरुको टाउको र गर्धनमा गहिरो चोट लागेको अस्पतालका डा. ललित लिम्बूले बताए।
खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने गरेको सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले बताए। आक्रमण गर्ने भालु अहिले पनि गाउँमै भएका कारण यहाँका स्थानीयवासीले भालुलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।











