आज सर्वोच्चमा सबै मुद्दाको सुनुवाइ स्थगित
सर्वोच्च अदालतमा आज (बिहीबार) सबै मुद्दाको सुनुवाइ रोकिएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलिराम कुमार सिंहको निधनका कारण सबै इजलासमा मुद्दाको सुनुवाइ रोकिएको हो ।
काठमाडौं– सर्वोच्च अदालतमा आज (बिहीबार) सबै मुद्दाको सुनुवाइ रोकिएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलिराम कुमार सिंहको निधनका कारण सबै इजलासमा मुद्दाको सुनुवाइ रोकिएको हो । सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट)ले पूर्वन्यायाधीश सिंहप्रति चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।
सर्वोच्चका न्यायाधीश मुद्दामा सुनुवाइका लागि इजलासमा बसिरहेका बेला अकस्मात् सिंहको निधनको खबर आएपछि उनीहरु इजलासबाट उठेका थिए ।
पूर्वन्यायाधीश सिंह २००२ सालमा रौतहटमा जन्मिएका थिए । उनले २०६१ सालमा साढे दुई केजी खैरो हिरोइन बोकेका बेलायती नागरिक जर्ज गर्डन विलियम रबिन्सनलाई सफाइ दिएको आरोपमा न्यायपरिषद्ले दोषी ठहर गरेपछि पदबाट राजीनामा दिएका दिए । तत्कालीन न्यायाधीश गोविन्दबहादुर श्रेष्ठले उनलाई इजलासको जिम्मेवारी नदिएपछि नैतिकताका आधारमा सिंहले राजीनामा दिएका थिए ।
त्यस्तै सिंहलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी अधिकार फोरम पार्टीले रौतहटको गौरमा भएको माओवादी कार्यकर्ताको हत्या प्रकरणमा जाँचबुझ समितिको अध्यक्षसमेत बनाएको थियो । रोलक्रममा सिंह प्रधानन्यायाधीशको लाइनमा थिए । न्यायपालिकामा उनले झन्डै ३५ वर्ष बिताएका थिए ।











