Kathmandu Press

धमाधम हुँदैछ भेरी बबई डाइभर्सनको काम 

वीरेन्द्रनगर, पुस २३ :  राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोना महामारीकै अवधिमा दोस्रो चरणको कामहरु धमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रका...
धमाधम हुँदैछ भेरी बबई डाइभर्सनको काम 

वीरेन्द्रनगर, पुस २३ :  राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोना महामारीकै अवधिमा दोस्रो चरणको कामहरु धमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणसँगै बाँध तथा विद्युतद गृह निर्माणलाई निरन्तरता दिएको हो ।
 
यहीअवधिमा निर्धारित मितिभन्दा एक वर्ष अगावै सम्पन्न भएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङ सिचाइँ विभागलाई हस्तान्तरण गरेको हो । अमेरिकी कम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टिबिएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो । सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्म मर्मत–सम्भारको काम भने  कोभेकले गर्नुपर्नेछ । 

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको जनाएको छ । हालसम्म लालपुर्जा भएका ४८ परिवारले ५० कित्ता बराबरको मुआब्जा लिएका छन् । आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमा लालपुर्जा भएका सबैलाई मुआब्जा वितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिन बाँकी रहेको बताए। उनले जिल्ला मुआब्जा निर्धारण समितिको निर्णय अनुसारर १२ करोड ३५ लाख वितरण गरिएको जानकारी दिए।  

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सोही सम्झौता बमोजिमन दीको बहाव फर्काउने बाँध (कफर ड्याम) को काम शुरु गरिएको छ । गत वर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशत निर्माण पूरा भएको जनाइएको छ ।

 “साइट क्याम्प निर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनका लागि तयारी अवस्थामा छ,” इन्जिनियर पण्डितले भने, “बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पूरा भइसकेको छ।” बाँधका कारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गर्नुपरेको हो।  

दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन् । भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ । यी सबै काम शुरु गरिएको आयोजनाको भनाई छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरु आर्थिक वर्ष २०७९-८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ । दोस्रो चरणका संरचना निर्माणमा ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूल संशोधित लागत भने ३३ अर्ब १९ करोड रहेको छ । 

सुर्खेतको भेरी गंगा नगरपालिका ५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्व रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत कम्पनी स्थापना गरी शेयर बाँडफाड गरिसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य रहेको छ। रासस

प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्