हलेसी मन्दिरमा एक महिनामा ६ लाख भेटी संकलन
खोटाङ्ग, पुस २३ : महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे पाँच लाख रूपैयाँभन्दा बढी भेटी संकलन भएको छ। कोरोना महामारीका कारण...
खोटाङ्ग, पुस २३ : महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे पाँच लाख रूपैयाँभन्दा बढी भेटी संकलन भएको छ। कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो। हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट पाँच लाख ६४ हजार २९० रुपैयाँ भेटी संकलन भएको हो।
गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मङ्सीर १६ गते खुला गरिएको थियो। हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी संकलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट तीन लाख ३० हजार ५९५ रुपैयाँ, बसाहा गुफामा राखिएको दानपेटीकाबाट २९ हजार ६३५ रुपैयाँ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट १४ हजार ७० रुपैयाँ भेटी संकलन भएको छ।
गत चैत ६ गतेदेखि पुस ८ गतेकाबीचमा मन्दिरको प्राङ्गणमा राखिएको दान पेटिकामा एक लाख ८९ हजार ९९० रुपैयाँ भेटी संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए। दर्शनार्थी तथा भक्तजनले भारु ६५० र अमेरिकन डलर एक रुपैयाँ चढाएका छन्। यस्तै, १०६।५० ग्राम चाँदी र १।३ ग्राम सुन संकलन भएको सूचना केन्द्रले जनाएको छ।
त्रिधार्मिकस्थलका नामले प्रसिद्ध हलेसीमा गत वर्ष ८७ लाख ६६ हजार २७४ रुपैयाँ भेटी बापतको रकमसहित सुन ११।५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ।
हलेसीमा अहिले दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टङ्क राईले जानकारी दिनुभयो । ‘हलेसीमा रामनवमीको अवरमा १५ दिन, बालाचतुर्दशीको अवसरमा १२ दिन, शिवरात्रीको अवसरमा मेला सात दिन र हरितालिका तीजको अवसरमा तीन दिन मेला लाग्दै आएको छ,’ उनले भने, ‘यस वर्ष कम्तीमा दश पटक मेला लगाउने तयारी गरिएको थियो। कोरोना महामारीका कारण समस्या भयो।’
अहिले व्यापार व्यवसायसमेत खुल्न थालेका छन्। व्यवसायीसमेत आफ्नो लयमा आएका उद्योग वाणिज्य संघ खोटाङका पूर्व अध्यक्ष एवं होटल हलेसी भिलेजका सञ्चालक राजेन्द्र लयालुले बताए।
हलेसीमा स्वदेशसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत्लगायतबाट दर्शनार्थी आउने गरेका छन्। हलेसी आउने भक्तजन तथा दर्शनार्थीका लागि आयल निगमको लगानीमा अतिथि गृहसमेत निर्माण भइरहेको छ।











