पछिल्लो राजनीतिक परिवर्तनले व्यवसायलाई असर गर्दैन : मन्त्री गुरुङ
काठमाडौं, पुस २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह...
काठमाडौं, पुस २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका छन्।
नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा उनले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशङ्का गरे पनि त्यस्तो केही नहुने स्प्रष्ट पारेका हुन्। उनका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्नेछ । उनले भने, “व्यवसायी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुहोस्।”
सङ्घका पूर्वअध्यक्षसमेत रहेका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गरे। यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पुर्याउने उनको भनाइ छ। उनले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याए। सञ्चार मन्त्रालयका तर्फबाट मन्त्रालयको कार्यक्षेत्रमा पर्ने कुरामा सहयोग पुर्याउने उनको भनाइ छ। उनले भने, “मन्त्रालयले डिजिटल नेपाल बनाउन लागेको इकमर्स र इबिजनेसमार्फत अघि बढ्नुहोस् ।”
नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले खेती गरेर जडीबुटीको उत्पादन बढाएर लैजान सकिने औँल्याए।











