Kathmandu Press

कलंकी-नागढुंगा सडकखण्डमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने

काठमाडौं, पुस २२ :  चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ । नपाले कलङ्की–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका...
कलंकी-नागढुंगा सडकखण्डमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने

काठमाडौं, पुस २२ :  चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ । 

नपाले कलङ्की–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेटले नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरुप बन्दै गएको भन्दै हटाउन लागेको हो । सो नगरपालिका काठमाडौँ प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र पम्प्लेट राखिएका छन् । चन्द्रागिरिमा काठमाडौँ भित्रिने पृथ्वी राजमार्गको ११ किलोमिटर सडक पर्दछ । 

नगरपालिकाका प्रमुख घनश्याम गिरीले सुन्दर चन्द्रागिरि निर्माणका लागि राजमार्ग क्षेत्रमा जथाभावीरुपमा राखिएका विज्ञापन ब्यानर, पम्प्लेट र अव्यवस्थित राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार हटाउन लागेको जानकारी दिए। “नगरपालिकाको अनुमति बेगर अव्यवस्थितरुपमा राखिएका ब्यानर सात दिनभित्र नहटाए नगरपालिकाले हटाउँछ र हटाउन लाग्ने खर्च सम्बन्धित कार्यालयबाट असुल उपर गरिनेछ”, नगरप्रमुख गिरीले भने। 

नगरपालिकाले नयाँ सेवा प्रदायक कम्पनी वा संस्थालाई नगरपालिकाको स्वीकृत लिएर मात्र सेवा प्रदान गर्न आग्रह गरेको छ । नपाले यसअघि उक्त राजमार्ग क्षेत्रमा एक करोडको लागतमा  ६७ अत्याधुनिक सिसी क्यामरा जडान गरिसकेको छ । यस्तै आगामी महिनामा सो राजमार्ग क्षेत्रमा ५०० बत्ती जडान गर्ने कार्यक्रम रहेको नगरप्रमुख गिरीले बताए। । 

सो नगरपालिका वाग्मती प्रदेशको सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । पन्ध्र वडामध्ये कलङ्की–नागढुङ्गा–पिपलामोड क्षेत्रमा ११ वडा पर्दछन् । 

प्रकाशित मिति: १८:१९ बजे, बुधबार, पुस २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्