Kathmandu Press

वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा मानव इतिहासकै उच्च

काठमाडौं, जेठ २ : आधुनिक मानव जाति (होमो सेपिएन्स्)को उत्पत्ति भएयता पृथ्वीको वायुमण्डलमा त्यति धेरै कार्बन डाइअक्साइड कहिल्यै थुप्रिएको थिएन, जति गएक....

वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा मानव इतिहासकै उच्च
एजेन्सी

काठमाडौं, जेठ २ : आधुनिक मानव जाति (होमो सेपिएन्स्)को उत्पत्ति भएयता पृथ्वीको वायुमण्डलमा त्यति धेरै कार्बन डाइअक्साइड कहिल्यै थुप्रिएको थिएन, जति गएको सप्ताहन्त थुप्रियो।  

अमेरिकाको हवाइ टापुस्थित मौना लोआ अब्जर्भेटरीको तथ्याङ्कअनुसार गत शुक्रबार र शनिबार पृथ्वीको वायुमण्डलमा  प्रति दश लाख चार सय १५ पार्टस् (पिपिएम) कार्बन डाइअक्साइड जम्मा भएको थियो।

वायुमण्डलमा थुप्रिएको कार्बन डाइअक्साइडको यो मात्रा विगत आठ लाख वर्षमा सबैभन्दा उच्च हो। अर्थात्, मानव जातिको उद्विकास सुरू हुनुअघि र सुरू भएपछि पनि यति धेरै कार्बन डाइअक्साइड कहिल्यै वायुमण्डलमा थुप्रिएको थिएन।

यो नयाँ तथ्याङ्कले विश्वभरका वैज्ञानिकमाझ खैलाबैला मच्चिएको छ। धेरैले यसलाई ‘डरलाग्दो तथ्याङ्क’ भनेका छन्।

मौसमविद् तथा वातावरण विषयका लेखक एरिक होल्टहाउसले ट्वीट गरेका छन्, ‘हामीलाई यस्तो (यति धेरै कार्बन थुप्रिएको) अर्को कुनै ग्रह थाहा छैन।’

होल्टहाउसले भनेका छन्, ‘पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा चार सय १५ पिपिएमभन्दा धेरै भएको यो मानव इतिहासकै पहिलो घटना हो।’

औद्योगिक क्रान्तिभन्दा आठ लाख वर्षअघि कार्बन डाइअक्साइडको मात्रा तीन सय पिपिएम नाघेको थिएन।

‘होमो सेपिन्यस’ करिब तीन लाख वर्षअघि पनि अस्तित्वमा थिएन। त्यसमाथि उनीहरूका केही पूर्वज करिब २० लाख वर्ष अघि पृथ्वीमा देखिएका थिए। हरितगृह ग्याँस वैज्ञानिकका अनुसार कार्बन डाइअक्साइड नै ‘ग्लोबल वार्मिङ’को मुख्य कारण हो।

कोइला, तेल र ग्याँसजस्ता जैविक इन्धन जलाएर विश्वलाई उर्जा दिँदा, कार्बन डाइअक्साइड र मिथेनजस्ता अन्य हरितगृह ग्याँसको उत्पादन हुन्छ। यी ग्याँसले सौर्य विकिरणलाई वायुमण्डलमै अल्झाएर राख्छन्। पृथ्वीको वायुमण्डलको तापक्रम पछिल्लो समय बढ्नुको कारण मानिस नै भएको वैज्ञानिक सहमति छ।

प्राकृतिक कारणले तापक्रम वृद्धि नभएको वैज्ञानिकहरूले बताए । बितेको दुई दशकमा, विश्वको तापक्रम एक डिग्रीको दुई तिहाइले बढेको नेसनल ओसनिक एन्ड एट्मोस्फेरिक एड्मिनिस्ट्रेसनले जनाएको छ।

‘पेलियोक्लाइमेटिक डाटा’सँगै कम्प्युटर ‘सिमुलेसन’ प्रयोग गरेर पोट्सड्याम इन्स्ट्टियुट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले यो वर्ष एउटा अध्ययन गरेको थियो। अध्ययनले कार्बन डाइअक्साइडको मात्रा तीस वर्ष यताकै उच्च रहेको देखाएको छ।

कार्बन डाइअक्साइडको सघनता अनुगमन गर्ने स्क्रिप्स कार्यक्रमका निर्देशक राल्फ किलिङले भनेका छन्, ‘औसत वृद्धि दर उच्च छ। अघिल्लो वर्षको वृद्धि करिब तीन पिपिएम र पछिल्लो औसत २.५ पिपिएम छ।’

सन् १९५८ यता, किलिङ र उनका पिता चाल्र्स डेभिड किलिङले मौना लोआ अब्जर्भेटरीमा कार्बन डाइअक्साइडको मात्रा मापन गरेका छन्। उनीहरूले ‘किलिङ कर्भ’ सिर्जना गरेका छन्। यो चित्रले कार्बन डाइअक्साइडको संचय देखाउँछ।

पोहोर साल मे महिनामा, कार्बन डाइअक्साइडको सघनता चार सय १० पिपिएम पुगेको थियो। युनिभर्सिटी अफ मिसिगनले गरेको अध्ययनमा कार्बन डाइअक्साइड उत्सर्जनको मात्रा आउने शताब्दीको मध्यसम्म पाँच करोड ६० लाख वर्षमा कहिले नभएको स्तरमा पुग्ने देखिएको छ।

यो हाम्रो जीवनकालमा नभए पनि, यो हाम्रो नातिनातिना वा पनातिपनातिनाको पालामा पक्कै हुनेछ।

(एजेन्सीहरूमा आधारित)

प्रकाशित मिति: १३:१६ बजे, बिहीबार, जेठ २, २०७६