भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
भक्तपुर– भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जनाए । बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
दिउँसो करिब १ः३० बजे करेन्ट लागेर पोलबाट भुइँमा खसेका मोक्तानको भक्तपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको र पोलमै टाँसिएका बुढाथोकीको भने पोलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
सडक बत्ती जडान गर्ने क्रममा विद्युत् लाइन काट्न नलगाउँदा र सावधानी नअपनाउँदा मजदूरको मृत्यु भएको र जोखिमयुक्त काममा पनि बीमा नहुँदा उनीहरु थप मारमा परेको अन्य मजदुरको गुनासो छ ।











