आन्दोलनपछि बौद्ध सडकमा धमाधम कालोपत्रे
काठमाडौं, जेठ २ : स्थानीय बासिन्दाले आन्दोलन गरेपछि चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकमा धमाधम कालोपत्रे गर्न लागिएको छ।
....
काठमाडौं, जेठ २ : स्थानीय बासिन्दाले आन्दोलन गरेपछि चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकमा धमाधम कालोपत्रे गर्न लागिएको छ।
लामो समयसम्म कालोपत्रे नगरिएपछि स्थानीय बासिन्दा आन्दोलमा उत्रिएका थिए। उनीहरू आवतजावत बन्द गरेका थिए भने प्रहरीसँग झडप समेत भएको थियो।
त्यसपछि यो सडकमा कालोपत्रे गर्न थालिएको हो। ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र गरिरहेको छ।
आन्दोलनपछि युनाइटेड विल्डर्सले स्थानीय बासिन्दासँग ६ बुँदे सहमति गरेको थियो। ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौं महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईसहित भएको छलफलमा कालोपत्र गर्ने सहमति भएको थियो ।
बौद्ध व्यापार संघका अध्यक्ष चौलागाईंका अनुसार आइतबारदेखि कालोपत्र गर्नु पूर्व रोलर लगाउने, सवबेस, बेस बनाउने काम काम शुरु भएको थियो भने अहिले कालोपत्र भइरहेको छ।
यो सडक गत चार वर्षदेखि धुलाम्मे र हिलाम्मे थियो। स्थानीय बासिन्दाले ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता गरेका थिएनन्।
सरकारले २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो। त्यही अनुसार, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।
११ दशमलव ४६ किलोमिटर लामो सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए। तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन।
स्थानीय बासिन्दाले आन्दोलन गरेपछि भने कालोपत्रे गर्न थालिएको हो। अहिले भने निर्माण कम्पनीले काम गरिरहेको जनाएको छ। अझै पनि काम रोकिए आन्दोलनमा उत्रिने स्थानीय बासिन्दाले बताएका छन्।











