उच्च आर्थिक वृद्धिका लागि बैंक र बीमाको भूमिका महत्वपूर्णः अर्थमन्त्री खतिवडा
काठमाडौं, जेठ १ : अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक विकासका लागि वित्तीय क्षेत्र प्रभावकारी हुन जरुरी रहेको बताएका छन्। मन्त्री खतिवडाल....

काठमाडौं, जेठ १ : अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक विकासका लागि वित्तीय क्षेत्र प्रभावकारी हुन जरुरी रहेको बताएका छन्। मन्त्री खतिवडाले बैँक र बीमाहरुले बचत बढाउने भएकाले पनि महत्वपूर्ण रहेको बताए।
बीमा समितिको ५० औँ वर्षगाँठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले साना र कृषकलाई केन्द्रित गरेर लघु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन समेत दिए। उनले जोखिम न्यूनिकरणका लागि पनि लघुबीमा अपरिहार्य रहेको बताए।
बीमा कम्पनीको विस्तारसँगै मर्जमा जानु पर्ने अवस्था आउने पनि उनले बताए। संख्यात्मक विस्तारले मात्रै राम्रो हुँदैन भन्ने उदाहरण नेपालको बैंकिङ क्षेत्र रहेको बताउँदै मन्त्री खतिवडाले संख्या विस्तार भन्दा गुणस्तर र बलियो हुन आवश्यक रहेको बताए।
कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बीमा क्षेत्रको विस्तारले नेपालमा व्यापकता पाउँदै गएको बताए। गत वर्ष बीमा क्षेत्र १० प्रतिशत नेपालीकोमा पुगेकोमा यस वर्ष वृद्धि भएर १८ प्रतिशत जनतामा पुगेको अध्यक्ष चापागाईंले जानकारी दिए।
यस वर्ष ६० लाख ३० हजार जीवन बीमा लेख विक्री गरेको समेत चापागाईंले बताए। जसबाट ४० अर्ब रुपैयाँ संकलन गरेको समेत अध्यक्ष चापागाईंले बताए। निर्जीवन बीमातर्फ १३ लाख भन्दा बढी बीमालेख संकलन भएको छ।
बाली तथा कृषि क्षेत्रमा समेत वृद्धि भएको समेत चापागाईंले बताए। पुनर्बीमामार्फत २४ अर्ब बाहिर गएको र क्षतिपूर्ति बापत ४० अर्ब भित्रिएको समेत उनले जानकारी दिए।











