Kathmandu Press

कृषिमल असारमा हाहाकार, हिउँदमा पर्याप्त  मौज्दात !

गत असार–साउनताका  हाहाकार भएको कृषिमल अहिले मौज्दात रहेको बताइएको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मात्रामा कृषिमल मौज्दात रहेकाे बताइएको छ ।
कृषिमल असारमा हाहाकार, हिउँदमा पर्याप्त  मौज्दात !

काठमाडौं– गत असार–साउनताका  हाहाकार भएको कृषिमल अहिले मौज्दात रहेको बताइएको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मात्रामा कृषिमल मौज्दात रहेकाे बताइएको छ ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको कृषिका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।

उनका अनुसार कम्पनीसँग हाल नौ/नौ हजार मेट्रिक टन डिएपी र पोटास तथा आठ हजार मेट्रिक टन युरिया मल मौज्दात छ । चालु आवको बोलपत्रमार्फत कर्पोरेसनले खरिद गरेको मलसमेत पर्याप्त मात्रामा छ । सुरुआती चरणमा कम्पनीको मल बिक्री वितरण हुने तथा मौज्दात सकिँदै गएपछि कर्पोरेसनले खरिद गरेको मलको बिक्री वितरण सुरु हुने उनले जानकारी दिए ।

बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया सुरु हुन सकेको छैन ।     

सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बंगलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बंगलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।     

कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउँछन्  । उनका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बंगलादेशलाई पठाइसकेको छ । ‘हामीले पठाएको एलसी बंगलादेशका अधिकारीले अध्ययन गर्दै गरेको जानकारी आएको छ, उताबाट हुन्छ भनेर पठाउनासाथ रासायनिक मल खरिदको प्रक्रिया सुरु भइहाल्छ,’ उनले भने, ‘हामीले जति सक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौं तर उताबाट धेरै ढिलाइ हुँदै आएको छ ।’     

उनका अनुसार सरकारी प्रक्रिया सकिएको १० दिनमा रेल र सडकमार्ग हुँदै मल खरिद सुरु गरिनेछ । बंगलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानसार बंगलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ ।     

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो । तयारीस्वरुप पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।    

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, पुस २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्