Kathmandu Press

अर्थविद्हरुको सुझाव–बजेट कर्मकाण्डी होइन, संघीयता कार्यान्वयन गर्ने खालको आउनुपर्छ

काठमाडौं, जेठ १ : अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। उनीहरुले कर्मकाण्डी नभएर संघीयता कार्यान्वयन गर्....

अर्थविद्हरुको सुझाव–बजेट कर्मकाण्डी होइन, संघीयता कार्यान्वयन गर्ने खालको आउनुपर्छ

काठमाडौं, जेठ १ : अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। उनीहरुले कर्मकाण्डी नभएर संघीयता कार्यान्वयन गर्ने खालको बजेट ल्याउनु पर्नेमा जोड दिएका हुन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमुख्य सचिव डा. विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा गर्ने खालको बजेट ल्याउन नहुने स्पष्ट पारे। 

कोइरालाले भने,‘यसअघिका बजेटहरु प्रचारबाजी र प्रियतावादका लोभले गाँजेको थियो। पूरा नहुने कुरा धेरै हुन्थे। बजेटको पुस्तिका फोहोर भयो।’ संघीयताको आभाष नहुने बजेट ल्याउन नहुने उनको सुझाव छ। सरकारले जनतासामू देखाएको आशा पूरा गर्नु पर्ने पनि उनको भनाइ छ। उनले सरकारले न्यायपूर्ण वितरण प्रणालीलाई बढावा दिनुपर्ने सुझाव दिए।  

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले संघीयतालाई जोडदार रुपमा कार्यान्वयन गर्ने खालको बजेट आउनुपर्ने सुझाव दिए। क्षेत्रीले संघले ठूला–ठूला आयोजना, प्रदेशले मझौला र स्थानी सरकारले सानातिना आयोजनाहरु हेर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाए। उनले खर्च गर्न नसक्ने बजेट ल्याउन नहुने पनि तर्क गरे।
 
वर्तमान सरकारलाई समाजवादउन्मुख अर्थतन्त्रको दिशा समात्ने अवसर भएकाले नेतृत्वले अवसर गुमाउन नहुने पनि क्षेत्रीले बताए। 

अर्का अर्थविद् डा. चन्द्रकान्त पौडेलले योजना आयोगको १५ औं योजनासँग अब आउने बजेट हार्मोनाइज हुनुपर्नेमा जोड दिए। उनले भने,‘अहिले दुई तिहाई बहुमतको स्थायी सरकार छ। संस्थागत सुधारहरु देखा परेका छन्। भर्खरै उत्साहजनक लगानी सम्मेलन भएको छ।’

उनले पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउन नहुने सुझाव दिए। उनले भने,‘साहसपूर्ण प्रस्तुति हुनुपर्छ। समाजवादी अर्थतन्त्रको लक्षण देखिनुपर्छ। अहिलेको बजेट समाजवादी बजेट आउने संकेत प्राप्त भएको छ।’ 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा र दोहोरो अंकको आर्थिक वृद्धिदरको कुरा उल्लेख भएको सुनाउँदै उनले यो राम्रो पक्ष भएको जिकिर गरे। 
 

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, जेठ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्